• २३ वैशाख २०८१, आइतबार

सामाजिक सदभाव खल्बल्याउनेसँग सजग रहनुपर्छ : मुख्यमन्त्री पाण्डे

blog

नेपाली कांग्रेस कास्की क्षेत्र १ (ख) द्वारा पोखरामा बिहीबार आयोजित शुभकामना कार्यक्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलगायत नेताहरु । तस्बिर : रमेश पौडेल

रमेश पौडेल

पोखरा, कात्तिक २ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले सामाजिक सद्भाव खलबल गरी मुलुकलाई कमजोर बनाउनेहरुसँग सजग रहनुपर्ने बताउनुभएको छ ।

कांग्रेस कास्की क्षेत्र –१ (ख) द्वारा पोखरामा बिहीबार आयोजित कांग्रेसको प्रथम प्रदेश सम्मेलन एवं शुभकामना कार्यक्रममा मुख्यमन्त्री पाण्डेले सो कुरा बताउनुभएको हो । 

उहाँले सबै जात, धर्म, भाषा र संस्कृतिलाई एकताको रुपमा लिँदैआएकोमा अहिले आएर नेपाली भाषा र धर्मप्रति प्रहारगरी मुलुकलाई कमजोर बनाई जनताले प्राप्त गरेको उपलब्धिलाई समाप्त गर्ने षड्यन्त्र भएको बताउनुभयो । 

कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका मुख्यमन्त्री पाण्डेले कांग्रेस कमजोर भए संघीय लोकतन्त्रसमेत धरापमा पर्ने बताउनुभयो । उहाँले कांग्रेसभित्र कमीकमजोरी छन् अब सबै नेता तथा कार्यकर्ताहरुले आफ्नो कमजोरीलाई सच्याउँदै अघि बढ्न आवश्यक रहेको उहाँको भनाइ छ ।  

सरकारका बारेमा बोल्दै मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘मैले सकेसम्म राम्रो काम गर्छु, नराम्रो गर्दिनँ, पार्टी र तपाईहरुको शिर झुकाएर कांग्रेसलाई बन्धक बनाउन पनि चाहान्न ।’

सो अवसरमा कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले कांग्रेसको बिकल्प कांग्रेस भएकाले काँग्रेसमा नै रहेर प्रजातन्त्रको पूर्ण सदुपयोग गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो । ‘कांग्रेससँगै डराउनुपर्छ अन्य पार्टीसँग डराउनु पर्दैन, कांग्रेस एक भएमा प्रजातन्त्र पनि बलियो हुन्छ र मुलुकले पनि आर्थिक र सामाजिक उपलब्धी हासिल गर्न सक्छ’ नेता शर्माले भन्नुभयो । 

कार्यक्रममा कास्कीका सभापति किशोरदत्त बरालले विदेशिने युवालाई स्वदेशमै रोजगारी दिन कृषि र अन्य उत्पादनशील क्षेत्रमा लाग्न नीतिगत रुपमै प्रोत्साहित गर्नुपर्ने बताउनुभयो ।

कास्कीका पूर्व सभापति कृष्ण केसीले पार्टीभित्रको आन्तरिक कलहलाई व्यवस्थापन गरेर जान सकेमात्र पार्टी एक ढिक्का हुने बताउनुभयो । कास्की क्षेत्र –१ (ख) का अध्यक्ष कृष्ण कोइरालाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कांग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री कोपिला रानाभाट, गण्डकी प्रदेशसभाका सांसद सरस्वती गुरुङलगायतले कांग्रेसलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।