• २३ वैशाख २०८१, आइतबार

नेतृत्वको असफलताले कोशीमा विद्रोह : मन्त्री लिम्बू

blog

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू । तस्बिर : हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला 

उर्लाबारी, कात्तिक २ गते । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले कांग्रेसको केन्द्रीय नेतृत्वको अकर्मण्यताका कारण कोशी प्रदेशमा ८ जना सांसदले विद्रोह गरेको बताउनुभएको छ । 

मोरङको बेलबारीमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा मन्त्रीले सो कुरा बताउनुभएको हो । केन्द्रीय नेतृत्वले पार्टीलाई सधैं लिलामीमा राखेर कार्यकर्तालाई दास बनाउन खोजेको बताउँदै पार्टीले संस्थागत निर्णय गरेर अघि नबढ्ने हो भने कोशी प्रदेशको विद्रोह देशभर फैलिने उहाँले बताउनुभयो । 

मन्त्री लिम्बुले भन्नुभयो, “नेतृत्व फरक मत राख्नेसँग बहस गर्न चाहँदैन । छलफल नगरी एकलौटी निर्णय गर्दा पार्टीमा समस्या आएको हो ।” नेपाली कांग्रेस मोरङका सभापतिसमेत रहनुभएका मन्त्री लिम्बूले विधानमा पार्टीका केन्द्रीय सदस्यले वडाबाट चुनाव जितेर जाने व्यवस्था नभएसम्म नेतृत्व नसच्चिने बताउनुभयो । 

उहाँले आगामी मङ्सिर १३–१८ मा हुने महासमिति बैठकले विधान संशाेधन गर्ने दाबी गर्दै पार्टीलाई सभापतीय प्रणालीमा लानुपर्ने बताउनुभयो । सबै पदाधिकारी निर्वाचित हुने व्यवस्थाले सभापति कमजोर भएको बताउँदै उहाँले कांग्रेसलाई पुरानै संरचनामा फर्काउनुपर्नेमा जोड दिनुभयो । गुटबन्दी र आरोप प्रत्यारोपले कांग्रेस दिशाहीन भएको उल्लेख गर्दै उहाँले कांग्रेसमा जान्ने बुझ्नेको कदर हुन छाडेको टिप्पणी गर्नुभयो । 

कांग्रेस बेलबारी –४ का वडा सभापति इन्द्रबहादुर राईको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस भोजपुरका सभापति एवम् कोशी प्रदेशका सांसद विनोदकुमार बान्तवा र मोरङ –३ का क्षेत्रीय सचिव राजेन्द्र अधिकारीले धारणा राख्नुभयो ।