सचिन पाख्रेल
इटहरी, कात्तिक २ गते । भारत र चीनसँग सीमा जोडिएका कोशी प्रदेशअन्तर्गतका स्थानीय तहका जनप्रतिनिधिहरूले सीमावर्ती क्षेत्रबाट हुने आपराधिक, अराजक तथा अवैध गतिविधि नियन्त्रणका लागि सीमा सुरक्षामा परिचालित सुरक्षा निकायलाई आ–आफ्नो तहबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
पछिल्लो समयमा सीमावर्ती क्षेत्रबाट लागूऔषधको ओसारपसार र कारोबारको गतिविधि बढिरहेको सन्दर्भमा त्यसको नियन्त्रण कार्यमा सीमा सुरक्षामा परिचालित सशस्त्र प्रहरी बललाई सीमा क्षेत्रका वडाध्यक्षहरूले सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
नेपालमै पहिलो पटक सशस्त्र प्रहरी बल १ नम्बर बराह बाहिनी पकलीले कोशी प्रदेश अन्तर्गतका सीमावर्ती स्थानीय तहका वडा अध्यक्षहरूसँगको गरेको अन्तर्क्रिया कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीबलले मानव बेचबिखन र लागूऔषधको ओसारपसारको नियन्त्रणमा गरेको कार्यमा सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल र चीनसँग सीमा जोडिएका विभिन्न जिल्लाका ५० जना वडा अध्यक्षको सहभागिता थियो ।
सशस्त्र प्रहरी बल १ नम्बर बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अन्जनीकुमार पोखरेलले समय समयमा उत्पन्न हुने सीमा विवाद, सीमावर्ती अपराध र गैरकानूनी क्रियाकलाप नियन्त्रण गर्न समुदायको भूमिकाको पहिचान गरी निरन्तर समन्वय, पारस्परिक सहयोग र सूचना आदानप्रदान हुनुपर्ने जनप्रतिनिधिहरूले सुझाव दिनुभएको बताउनुभयो ।
उहाँले सीमाको सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरी बलको र रहेको र सीमावर्ती क्षेत्रका स्थानीय तह अन्तर्गतका वडाअध्यक्षहरु त्यस क्षेत्रको समस्याको बारेमा बढी जानकार हुने भएकाले उहाँहरूबाट प्राप्त सुझाव सल्लाह कार्यान्वयन गरिने बताउनु भयो ।
सशस्त्र प्रहरी बल नेपालको ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमको अवधारणा’ अनुसार आयोजित कार्यक्रममा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन स्थानीय तह र समुदायको भूमिकाको पहिचान, सीमावर्ती अपराध तथा गैरकानुनी क्रियाकलापलाई नियन्त्रण गर्न समुदायको भूमिकाको पहिचान, निरन्तर समन्वय, पारस्परिक सहयोग र सूचना आदानप्रदानका उपायहरूको खोजी र कार्यान्वयन विषयमा छलफल भएको थियो ।
कार्यक्रममा बदलिँदो सुरक्षा परिवेशमा सीमा सुरक्षा तथा व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालको भूमिका र सम्भाव्यता सम्बन्धमा प्रस्तुतीकरण समेत गरिएको सशस्त्र प्रहरी नायब महानिरीक्षक पोखरेलले जानकारी दिनुभयो ।
कार्यक्रममा पाँचथरको फालेलुङ्गदेखि सुनसरीको बर्जूसम्मका विभिन्न वडाबाट प्रतिनिधित्व गर्नुभएका वडा अध्यक्षले पछिल्लो समय सीमा सुरक्षाको क्षेत्रमा सशस्त्र प्रहरी बलको भूमिका प्रभावकारी रहेको उल्लेख गर्दै सीमामा देखिएका समस्या, चुनौती र समाधानका सन्दर्भमा चर्चा गर्नुभएको बताइएको छ ।
विशेष गरी लागूऔषध ओसारपसार तथा सेवन, भन्सार छली गरी सामानहरूको अवैध ओसारपसार तथा चोरी तस्करीलगायत गतिविधि नियन्त्रण गर्ने विषयमा सरोकारवाला निकायको भूमिका सम्बन्धमा छलफल भएको थियो ।
यसैगरी, सीमापार अपराध र अवैध गतिविधि नियन्त्रणका लागी आगामी दिन सूचना आदानप्रदान तथा समन्वयको कार्यलाई थप प्रभावकारी बनाउँदै लैजाने विषयमा वडाध्यक्षहरूले आ–आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो । वडाध्यक्षहरूबाट सीमा सुरक्षा तथा व्यवस्थापनसम्बन्धी उठान भएका विषयहरूमा सशस्त्र प्रहरी नायब महानिरीक्षक पोखरेलले सम्बोधन गर्नुभएको थियो ।
कोशी प्रदेशको सीमावर्ती क्षेत्र अन्तर्गत विदेशी भूमिसँग जोडिएका असीवटा वडा छन् । जसमध्ये भारतसँग सीमा जोडिएका सत्तरी, चीनसँग सीमा जोडिएका नौ र दुवै देशसँग जोडिएको एउटा वडा छ ।
कोशी प्रदेशअन्तर्गत भारतसँग सीमा जोडिएको ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ र सुनसरी जिल्लाको ४२८ किलोमिटर र सङ्खुवासभा र ताप्लेजुङ जिल्लामा चीनसँग जोडिएको २६२ किलोमिटर क्षेत्रको सीमाको सुरक्षामा सशस्त्र प्रहरी बल परिचालित छ । यसका लागि भारततर्फ जोडिएको सीमाको सुरक्षाका लागि दशवटा प्रस्तावित सीमा सुरक्षा गुल्म र ४५ वटा बोर्डर आउट पोष्ट (बिओपी) र चीनतर्फ जोडिएको सीमाका लागि दुईवटा बिओपी छन् ।