• १२ मंसिर २०८१, बुधबार

दसैंको अवसरमा निःशुल्क स्वास्थ्य शिविर

blog

निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराउँदै गौरीडाँडाकी महिला । तस्विर–रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, कात्तिक २ गते । बडादशैंका अवसर पारेर बर्दिबास नगरपालिका –३ गौरीडाँडामा स्वास्थ्य शिविरको आयोजना गरिएको छ । ‘स्वस्थ जीवन सुरक्षित चाडपर्व’ को सन्देशसहित बुधवार आयोजित निःशुल्क शिविरमा सयजना बढी महिलाको स्वास्थ्य परीक्षण गरिएको छ । 

ग्रामीण भेगमा अझै स्वास्थ्य सेवाको पहुँच विस्तार हुन नसकेको अवस्थामा सर्वसाधारणले सहज उपचार पाउन् भन्ने उद्देश्यले घरदैलोमै स्वास्थ्य शिविर आयोजना गरिएको वडाध्यक्ष विराट विष्टले बताउनुभयो ।  

नेपाल परिवार नियोजन सङ्घ बर्दिबास शाखासँगको सहकार्यमा बर्दिबास –३ ले आयोजना गरेको एक दिने शिविरमा महिला प्रजनन स्वास्थ्यसम्बन्धी सेवा प्रदान गरिएको थियो । बिहान ८ बजेदेखि अपरान्हसम्म सञ्चालित शिविरमा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ, यौनजन्य रोग, गर्भपतन तथा बाँझोपनजस्ता समस्याको परीक्षण र परामर्श, आङ खस्ने समस्याको उपचार, ईप्लान्ट, आइयुसीडी लगायतका परिवार नियोजनसम्वन्धि सेवा सञ्चालन गरिएको छ । 

स्वास्थ्य परीक्षणका क्रममा ३ जना महिलामा पाठेघरको मुखको क्यान्सरको लक्षण देखिएको, ३ जनामा आङ खस्ने समस्या पहिचान गरिएको र गर्भ परीक्षणका क्रममा एकजनालाई सुरक्षित गर्भपतन सेवा प्रदान गरिएको सेवाप्रदायक नेपाल परिवार नियोजन सङ्घका शाखा प्रबन्धक दीपेन्द्र श्रेष्ठले बताउनुभयो । 

परीक्षण गरिएका अधिकांश महिलामा सानातिना स्वास्थ्य समस्या पहिचान गरिएको उहाँले बताउनुभयो । संघका स्वास्थ्यकर्मीहरु क्षितिजा हमाल, प्रमिलाकुमारी यादव, शान्ता अधिकारी लगायतले सेवा प्रदान गर्नुभएको शिविरमा विभिन्न रोगका करिव दश हजार मूल्य बराबरका निःशुल्क औषधि वितरण गरिएको आयोजक वडा कार्यालयले जनाएको छ । चाडवाडको मुखमा घरदैलोमै पाएको निःशुल्क स्वास्थ्य सेवाप्रति वडाबासीले खुसी प्रकट गरेका छन् ।