• २६ वैशाख २०८१, बुधबार

कृषि र पशुपालन सरकारको प्राथमिकतामा

blog

कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसाल बिहीवार नेपालगञ्जको गौशाला अनूगमनको क्रममा । तस्विर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, कात्तिक २ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले ब्यावसायिक कृषि र पशुपालनबाट मात्र मुलुकको समृद्धि सम्भव भएको बताउनुभएको छ ।

बाँकेको विभिन्न स्थानमा रहेका गौशाला, कृषि फर्म तथा दुधको कारोबार गर्ने सहकारीको बिहीबार अनुगमन गर्दै मन्त्री भुसालले सरकारले ब्यावसायिक कृषि र पशुपालनलाई प्राथमिकतामा राखेको बताउनुभयो । 

नेपालगञ्ज उपमहानगरपालिका –२० मा रहेको गौशालाको निरीक्षणपछि मन्त्री भुसालले गौशालाको स्थापना गरी स्थानीयले महत्वपूर्ण काम गरेको भन्दै सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो । 

यसैगरी बिहिबार नै बैजनाथ गाउँपालिका –५ मा रहेको बनकटुवा दुग्ध उत्पादक सहकारी संस्थाको अनूगमनमा पुग्नुभएका मन्त्री भुसालले आर्थिक विकासमा सहकारीको पनि महत्वपूर्ण भूमिका रहेको भन्दै कृषिलाई सबैले प्राथमिकता दिनुपर्ने बताउनुभयो । 

मन्त्री भुसालले भन्नुभयो, ‘कृषि विकाससम्बन्धि योजना स्थानीय तहबाट सिफारिस भइ आएमा छनौट र कार्यान्वयनमा सहज हुने देखिन्छ ।’ मन्त्री भुसालले सिक्टा सिंचाइँको पानी प्रयोग गरेर किसानले लाभ लिन सक्ने भएकाले योजना बनाउन आग्रह गर्दै स्थानीय तहबाट सिफारिस भएका योजना मन्त्रालयले प्राथमिकता दिनेगरेको बताउनुभयो । 

उहाँले चीनले माग गरेको राङ्गाको सुकुटीसँगै दुग्धजन्य पदार्थ निर्यात गर्ने कृषि मन्त्रालयको योजना रहेको बताउनुभयो । मन्त्री भुसालले बिहीबार नै खजुरामा मन्त्रालय अन्तर्गतका कर्मचारीलाई आवश्यक निर्देशन दिनुभयो ।