• २६ वैशाख २०८१, बुधबार

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त : मन्त्री शर्मा

blog

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा ।

काठमाडौं, कात्तिक २ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘ब्रिफिङ’ गर्नुभएको छ । आज (बिहीबार) बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले चीन भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘ब्रिफिङ’ गराउनुभएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । 

चीनमा रहनुभएका उपप्रधानमन्त्री श्रेष्ठलाई गएराति सामान्य प्रकारको हृदयाघात भएको थियो । प्रधानमन्त्री प्रचण्डले उहाँको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कजेजमा उपचार भइरहेको जानकारी गराउनुभएको मन्त्री शर्माले बताउनुभयो । उहाँको स्वास्थ्य अवस्था खतरामुक्त रहेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

“प्रधानमन्त्री प्रचण्डले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे चीनका लागि नेपाली राजदूतसँग जानकारी लिइराख्नुभएको छ । उपचारका क्रममा केही दिन उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा नै रहने जानकारी आएको छ”, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै मन्त्री शर्माले भन्नुभयो ।

बैठकले नजिकिएको चाडपर्व दसैं, तिहार, नेपाल संवत्, छठलगायत राष्ट्रिय पर्वका अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेको छ ।

यो पनि पढ्नुहोस