• ४ पुस २०८१, बिहिबार

हावाहुरीले धान बालीमा क्षति

blog

रुपन्देहीको सैनामैनामा हुरीले ढलाएको धान । तस्बिर : छविलाल पाण्डे

बुटवल समाचारदाता

बुटवल, कात्तिक २ गते । सोमबार राति आएको ठुलो हावाहुरीसहितको पानीले रुपन्देहीको धानबालीमा ठुलो क्षति गरेको छ । किसानले काट्न तयारी गरिरहेको अवस्थामा आएको हावाहुरीसहितको पानीले अधिकांश खेतको धान सुताएको छ । 

धान पानीले भिजेका कारण उत्पादनमा समेत ठुलो असर पु-याउने अवस्था देखिएको कृषि ज्ञान केन्द्र रुपन्देहीले जनाएको छ । कृषि ज्ञान केन्द्रका अनुसार किसानले पाकेर काटेको धान, पाक्नै लागेको र पसाएर फुल्दै गरेका धान बालीमा क्षति पुगेको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकृत अनिलकानु बानियाँले किसानको क्षति भएको धानको तथ्याङ्क सङ्कलनको काम भइरहेको बताउनुभयो । 

रुपन्देहीको कञ्चन गाउँपालिका–१, बेलभरियाका किसान रामप्रसाद पौडेलले धान काट्ने तयारी गर्दैगर्दा सोमबार राति आएको हावाहुरीसहितको पानीले धान ढलाएर भिजाएको बताउनुभयो । 

उहाँले यो वर्ष पानी राम्रो परेका कारण धान राम्रो फले पनि हावाहुरीले अधिकांश किसानको धान खेत डुबाएको गुनासो गर्नुभयो । उहाँले पसाएर फूल खेल्दै गरेको हरियो धानमा बढी क्षति पु-याएको बताउनुभयो । 

रुपन्देहीको कुल खेतीयोग्य जमिनमध्ये ६५ हजार हेक्टर क्षेत्रफलमा यो वर्ष धान खेती गरिएको थियो । हावाहुरीले जिल्लाका अधिकांश खेतमा काट्नै लागेको तयारी गरिएको धानमा बढी क्षति भएको छ । त्यसै गरी अर्का किसान रामवचन केवटले सावा मन्सुली धानमा फूल खेल्दै गरेको बेला आएको हावाहुरीले उत्पादनमा कमी आउने बताउनुभयो । रुपन्देहीका अधिकांश किसानले कात्तिकअगावै पाक्ने धान रोप्ने गरेका छन् । केही किसानले भने पाकेको धान काटेर भित्र्याएका छन् । गैडहवाका मीनप्रसाद घिमिरेले आफूले गोरखनाथ धान रोपेको र एक साताअगावै धान दाइँ लगाएर भित्र्याइसकेको बताउनुभयो । 

गोरखनाथ धान धेरै फल्ने हुनाले रुपन्देहीका किसानका लागि गोरखनाथ धान लोकप्रिय छ । गोरखनाथपछि सर्जु ५२, रामधान, कामधेनु र सावा मन्सुलीको खेती हुने गरेको छ । 

रुपन्देहीको सैनामैना, कञ्चन, गैडहवा, शुद्धोधन, सियारीलगायतका पालिकाका करिब २५ प्रतिशत किसानले धान भित्र्याएका छन् । अधिकांश किसानको काटेको धान खेतमै छ ।