घोराही समाचारदाता
घोराही, कात्तिक २ गते । दाङको घोराही–तुलसीपुर चार लेन सडक मर्मतको काम पूरा नहुँदै म्याद सकिएको छ । चार लेन सडक निर्माण लामो समयसम्म अलपत्र परेको थियो ।
२०८० असोज मसान्तसम्म सडक मर्मत गरिसक्ने गरी गएको असार १८ गते सडक डिभिजन कार्यालय दाङले दुई वटा निर्माण कम्पनीसँग सम्झौता गरेको थियो । ठेक्का सम्झौता अनुसार सडक मर्मतको काम सकिनुपर्ने भए पनि अहिलेसम्म करिब ६० प्रतिशत मात्रै काम सकिएको छ । सडक डिभिजन कार्यालय दाङका इन्जिनियर महेश विकका अनुसार घोराही उपमहानगरपालिका–३, कुइरेपानीदेखि घोराही र तुलसीपुरदेखि बिजौरीसम्म केही सडक मर्मतको काम भए पनि घोराहीदेखि–बिजौरीसम्मको सडक मर्मत हुन सकेको छैन । उहाँका अनुसार सडक मर्मतको करिब ६० प्रतिशत काम भए पनि बाँकी काम हुन सकेको छैन । असोज मसान्तभित्र सडक मर्मतको काम सक्ने गरी सम्झौता भएको थियो तर निर्माण व्यवसायीको ढिलाइ र पानी पर्दा सम्झौता अवधिमा करिब ६० प्रतिशत मात्रै काम भएको छ ।
चार लेन सडक निर्माणको ठेक्का तोडिएपछि पुरानै सडकलाई मर्मत गर्नका लागि सडकलाई दुई खण्डमा विभाजन गरेर कार्यालयले ठेक्का सम्झौता गरिएको थियो । जस अनुसार घोराहीको कुइरेपानीदेखि गुर्जेखोलासम्म रोल्पा निर्माण सेवा प्रालिसँग र गुर्जेखोलादेखि तुलसीपुरसम्मको सडक मर्मतका लागि रोल्पा स्वच्छन्द निर्माण सेवा प्रालिसँग सम्झौता भएको जनाइएको छ । रोल्पा स्वच्छन्द निर्माण सेवा प्रालिले घोराही–तुलसीपुर सडकखण्डको गुर्जेखोलादेखि तुलसीपुरसम्म एक करोड १६ लाखमा मर्मतको ठेक्का र रोल्पा निर्माण सेवा प्रालिले कुइरेपानीदेखि घोराहीको गुर्जेखोलासम्मको सडक एक करोड ४२ लाख रुपियाँमा मर्मतका लागि ठेक्का सम्झौता गरेका थिए ।
चार पटक म्याद थपेर पनि काम नगरी भारतको मुम्बईस्थित तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालि सम्पर्कविहीन बनेपछि भालुबाङ–बाग्दुला–भीमगिठे, चन्द्रौटा–कृष्णनगर, लमही–घोराही–तुलसीपुर फोर लेन सडक आयोजना कार्यालय लमहीले ठेक्का तोडेर मर्मतका लागि सडक डिभिजन कार्यालयलाई जिम्मेवारी सारेको थियो । ठेकेदार कम्पनीसँग २०७९ चैत २६ गते ठेक्का तोडिएको र ठेक्का तोडिएपछि बिग्रेको सडक मर्मत गरेर काम चलाउ बनाउन सडक डिभिजनले साढे तीन करोड रुपियाँ विनियोजन गरेको थियो ।
मर्मत ठेक्कामा सुरुको कुइरेपानीदेखि गुर्जेखोलासम्मको १३.२३ किलोमिटर सडकमा सिस्नेखोला, कटुवाखोला र कटुवाखोलादेखि डिके पेट्रोल पम्पसम्मको एप्रोचबाहेकको सडकमा मर्मत गर्ने र गुर्जेखोलादेखि तुलसीपुरसम्म १७.३ किलोमिटर सडकमा पत्रेखोला पुलको एप्रोचबाहेकको सडक मर्मत हुने गरी ठेक्का सम्झौता भएको थियो ।