• २५ वैशाख २०८१, मङ्गलबार

‘अफर’ को लहर

blog

नेपाली हिन्दुहरूको सबैभन्दा ठुलो चाड मानिने दसैँतिहारमा वर्षकै सबैभन्दा धेरै किनमेल हुने गर्छ। दसैँमा नयाँ लुगासँगै घरका लागि आवश्यक सामान जोड्ने, मोबाइल अन्य सवारी खरिद गर्ने प्रचलन छ । 

चाडपर्वमा बजारमा सामानको खपत बढी हुने हुँदा व्यापारिक कम्पनीले दसैँलाई लक्षित गरेर विभिन्न अफरसँगै छुट योजना ल्याउने गर्छन् । लत्ताकपडा र जुत्ता जस्ता पहिरन पनि सेलमा पाइने र अन्य सामानमा पनि छुट अफर यति बेला सार्वजनिक हुने गर्छ । अफर योजनामा सामानमा छुट, उपहार, नगदसँगै विभिन्न ठाउँमा भ्रमणको प्याकेज पनि घोषणा गरेको पाइन्छ । निजी कम्पनीसँगै सरकारी कम्पनीले चाडपर्वमा छुटका कार्यव्रmम ल्याउने गर्छन् । सरकारी सुपथ मूल्य पसलदेखि दूरसञ्चार सेवामा दसैँ अफर ल्याउने यसका उदाहरण हुन् ।  

पछिल्लो समय दसैँमा सवारी र मोबाइल खरिदमा छुट दिने प्रचलन जस्तै बनेको छ। अटो कम्पनीहरूले छुटसहित आफ्ना ग्राहकका लागि घुमघामका अफर पनि सार्वजनिक गरिरहेका छन् । सवारी खरिद गर्दा नगद छुटसहित विभिन्न एक्सचेन्ज, निःशुल्क बिमा, सडक दस्तुर तिर्नु नपर्ने, चार्जर र स्पेयर टायरलगायतमा विशेष छुटका योजना सार्वजनिक गरेका छन् । विदेशी मुद्रा सञ्चिति घट्दै गएको भन्दै सरकारले साधनको आयातमा प्रतिबन्ध लगाएको र यस पटक त्यो खुला भइसकेकाले सवारी बिक्री बढाउन अफर ल्याएको देखिन्छ । यस पटक खासगरी विद्युतीय सवारीको बिव्रmीमा जोड देखिन्छ । 

सवारीमा थरीथरीका अफर

दसैँतिहारमा होन्डा मोटरसाइकल तथा स्कुटर खरिद गर्दा १० लाखसम्मको नगद उपहार जित्न सकिने अफर आएको छ । नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले होन्डाको जुनसुकै बाइकको खरिदमा ‘दसैँमा १० लाख’ योजना ल्याएको हो । 

यामाहा नेपालले पनि फेस्टिभ सेलिब्रेसन अफर ल्याएको छ । अफर अन्तर्गत एक लाख रुपियाँसम्मको छुट दिने घोषणा गरिएको छ । कम्पनीले सबै मोडलका बाइक खरिदमा न्यूनतम आठ हजारदेखि एक लाख रुपियाँसम्म छुट दिने भएको हो । यस्तै स्कुटर खरिदमा भने छ हजारदेखि एक लाख रुपियाँसम्म छुट पाइने कम्पनीले जनाएको छ । यसबाहेक हरेक दिन यामाहा ज्याकेट, हरेक हप्ता आइफोन १४ जित्न सकिने र मासिक जापान जान पाउने अफर पनि कम्पनीले ल्याएको छ । 

बजाज बाइकको आधिकारिक विक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनीले बजाजको बाइक खरिदमा दसैँतिहार योजना ल्याएको छ । कम्पनीले दसैँ अफरमा ‘आम्मामा २५ गुणा अफर’ ल्याएको हो । जुन हालसम्मकै ठुलो अफर रहेको कम्पनीको दाबी छ । बजाज बाइकको खरिदमा पक्का २५ गुणा नगद उपहार पाइने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । उक्त योजना आगामी मङ्सिर १४ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।

मोटर हेड ब्रान्डका बाइक खरिदमा पनि एक लाख रुपियाँ छुट र शतप्रतिशत क्यासब्याकको घोषणा भएको छ । सुजुकी बाइक तथा स्कुटरको आधिकारिक विक्रेता भिजी अटोमोबाइल्सले दसैँलक्षित अफर योजनामा ‘बाँडौँ खुसी, चढौँ सुजुकी’ अफर ल्याएको छ । जसमा सुजुकीको बाइक खरिदमा १० हजार नगद छुटका साथै पुरानो बाइक एक्सचेन्ज गर्दा बजार मूल्यमा १५ हजार अतिरिक्त मूल्याङ्कन गरिने भएको छ । टिभिएस जगदम्बा मोर्टस्को आधिकारिक विक्रेता रहेको टिभिएसले सवारी खरिद गर्दा पाँच लाख रुपियाँसम्म जित्ने अफर ल्याएको छ । यस्तै भेस्पा र अप्रिला ब्रान्डका स्कुटर खरिदमा भने आकर्षक नगद छुटसहित इटली भ्रमणमा जान पाउने अफर पनि आएको छ । भेस्पा र अप्रिला ब्रान्डको नेपालका लागि आधिकारिक विक्रेता डेल्टा अटोकर्पले ‘भेस्पा र अप्रिलासँग उपहारको तरङ्ग, दसैँतिहार तथा छठ’ अफर ल्याएको हो । 

विद्युतीय सुपर सोको मोटरसाइकल तथा स्कुटरले पनि यो वर्ष दसैँलाई लक्षित गर्दै अफर अघि सारेको छ । कम्पनीले दसैँ अफरमार्फत ४० हजार रुपियाँ छुट र थप मूल्यमा १० हजार छुट दिने अफर ल्याएको हो ।

इलेक्ट्रोनिक्समा छुट

दसैँमा इलेक्ट्रोनिक्स सामानको सबैभन्दा धेरै बिक्री हुने गर्छ । त्यसैले यस्ता सामानको बिक्री बढाउन कम्पनीहरूले खासगरी छुटको घोषणा गर्छन् । माइडिया ब्रान्डको घरायसी सामग्रीका लागि आधिकारिक वितरक चौधरी ग्रुपले ‘माइडियाको उत्सव र उमङ्ग, उपहारसँग सबै दङ्ग’ भन्ने नारासहित घोषणा गरेको अफरमा माइडियाको ६, ७ र ८ केजी क्षमताका वासिङ मेसिनको खरिदमा आइरन, इन्डक्सन तथा माइक्रोवेभ ओभन उपलब्ध गराउने घोषणा गरेको छ । 

सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको इओएल प्रालिले ‘दसैँतिहारमा, उपहार साथमा’ योजनासहित एलिका ब्रान्डका सामानको खरिदमा सिजी ब्रान्डको भ्याकुम उपहारस्वरूप प्रदान गर्ने भएको छ । 

इन्टरनेट र डिजिटल भुक्तानीमा पनि अफर

दसैँमा सामानमा मात्र होइन इन्टरनेट र डिजिटल भुक्तानीमा पनि क्यासब्याक अफर सार्वजनिक हुने गर्छ । इन्टरनेट प्रयोगकर्ता बढेसँगै सेवा प्रदायकले पनि ग्राहकलक्षित चाडपर्व प्याकेज सार्वजनिक गर्ने प्रचलन बढेको छ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे ले’ ‘आइएमई पे डिजिटल दसैँतिहार’ अफर ल्याएको छ । हरेक दिन ५० जना भाग्यशाली सेवाग्राहीले  विभिन्न कारोबारका लागि क्यासब्याकको प्रोमो कोड प्राप्त गर्न सक्ने छन् । त्यस्तै हरेक हप्ता एक जना भाग्यशाली सेवाग्राहीले अल्टिमा लाइफ स्टाइलको गिफ्ट ह्याम्पर पनि प्राप्त गर्ने छन् । अन्त्यमा आठ जना भाग्यशाली विजेताले ५० हजार रुपियाँ बराबरको सपिङ गिफ्ट ह्याम्पर प्राप्त गर्न सक्ने छन् । 

डिटिएच सेवा प्रदायक डिसहोमले दसैँतिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपर स्टार सिजनकै मेगा स्टार’ सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत डिसहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकले हरेक हप्ता लक्की ड्रमार्फत नगद एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटीझैँ जीवनशैली अनुभव गर्न सक्ने कम्पनीको दाबी छ । सामसङ नेपालले ‘रमाइलो दसैँतिहार, मायाले भरौँ घर परिवार’ शीर्षकको नयाँ चाडपर्व अफर घोषणा गरेको छ । ४१ प्रतिशतसम्मको छुटमा सामसङको टेलिभिजन सेट र होम अप्लायन्सहरू घर ल्याई यो अफरबाट चाडपर्वको मौसममा ग्राहकको घर हर्ष र खुसियालीले भर्ने उद्देश्य रहेको छ । ग्राहकले कुनै पनि सामसङको नयाँ टिभी खरिद गर्दा त्यसमा तीन वर्षको वारेन्टीको व्यवस्था गरिएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दसैँतिहार पर्वलाई लक्षित गरी दसैँ योजना सार्वजनिक गरेको छ । क्लासिक टेकमा आबद्ध हुन चाहने नयाँ ग्राहकले २०० र ३०० एमबिपिएस इन्टरनेट ९०७ र एक हजार १७७ रुपियाँमा प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ । ई–सेवामार्फत टिकट बुक गर्दा १५० रुपियाँ क्यासब्याकको व्यवस्था गरेको छ । 

बढेन व्यापार

दसैँमा अन्य समयको तुलनामा  हरेक सामानको व्यापार दोब्बर तेब्बर हुने गरेकोमा यस पटक भने न्यून रहेको छ । किनमेल गर्नेको चहलपल बढे पनि व्यापार बढ्न नसकेको व्यवसायीको भनाइ छ । मुख्य मुख्य व्यापारिक केन्द्रमा दसैँको चहलपहल क्रमिक रूपमा बढ्न थालेको छ । बजारमा मूल्य बढेका कारण र उपभोक्तामा पर्याप्त रकम नहुँदा दैनिक उपभोग्य वस्तुका रूपमा रहेको खाद्यान्नको व्यापार बढे पनि अन्य सामानको कारोबार भने बढ्न सकेको छैन । 

अन्य समयको भन्दा दसैँको समयमा बजारमा चहलपहल बढ्नुपर्ने हो तर आर्थिक मन्दीले दसैँ बजार प्रभावित बनेको छ । उपभोक्ताको क्रयशक्ति न्यून हुनु, उच्च ब्याजदरका कारणले गर्दा पनि व्यापार फस्टाउन सकेको छैन । 

जुत्ता उत्पादन सङ्घ नेपालका महासचिव ज्ञानेन्द्रप्रसाद दाहालले विगतका वर्षको तुलनामा  जुत्ताचप्पलको व्यापारमा ५० प्रतिशत कमी आएको जानकारी दिनुभयो ।  “बजारमा माग कम हुँदा कारखानाबाट होलसेल पसलमा सामान नजाँदा ठुलो सङ्ख्यामा मौज्दात रहेको छ,” उहाँले भन्नुभयो, “व्यापार नहुुँदा कर्मचारीलाई तलब दिन सकिएको छैन,” उहाँले भन्नुभयो । यस्तै अवस्था रहे साना उद्योग बन्द हुने उहाँको भनाइ छ । विगतका दसैँमा जुत्ताचप्पलको कारोबार बढ्ने गरेकोमा यस पटक न्यून रहेको उहाँले जानकारी दिनुभयो । 

कपडा उद्योग सङ्घका अध्यक्ष शैलेन्द्रलाल प्रधान अवैध रूपमा बाहिरी मुलुकबाट कपडा आयात हुँदा स्वदेशी उत्पादन महँगो भई बिक्री हुन नसकेको बताउनुहुन्छ। भन्सार छलेर ल्याएका सामान सस्तो मूल्यमा बिक्री भइरहेको र नेपाली उत्पादनको लागत महँगो हुँदा प्रतिस्पर्धा गर्न नसक्दा व्यापार ठप्प अवस्थामा रहेको उहाँको भनाइ छ । 

व्यवसायीका अनुसार नेपाली कपडामा २०७५ पछि भ्याट सुविधा हटाउँदा कपडा महँगो हुन थालेको छ । सङ्घका अनुसार बजारमा माग कम हुँदा नेपाली कपडाको व्यापारमा ८० प्रतिशत  गिरावट आएको छ । साना कपडा उद्योग बन्द भइसकेका र धेरै बन्द हुने क्रममा रहेको व्यवसायी बताउँछन् । मुलुकभर २५० सङ्ख्यामा कपडा उद्योग रहेका छन् । 

बुद्धनगरस्थित बिएन स्टोरका सञ्चालक नारायण न्यौपाने मेडिकल सामानको व्यापारमा ३५ देखि ४० प्रतिशतले कमी आएको बताउनुहुन्छ । आर्थिक मन्दीका कारण व्यापारमा प्रत्यक्ष असर परेको उहाँको भनाइ छ । बजार माग कम, उपभोक्ताको आम्दानी कम हुँदा अत्यावश्यकबाहेक अन्यमा खर्च कम हुँदा होलसेलदेखि खुद्रा व्यापारको कारोबार न्यून रहेको व्यवसायीको भनाइ छ । 

अन्य व्यापार व्यवसाय सुस्ताए पनि सवारीसाधन खरिद बुकिङ भने बढेको छ। नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अनुसार कोरोना भाइरसका कारण थलिएको अर्थतन्त्रले ठप्प भएको व्यवसायमा यस पटक सुधार देखिएको छ । अघिल्लो वर्षको दसैँसँग तुलना गर्दा यस पटक सवारीसाधन खरिदका लागि बुकिङ बढेको छ । बैङ्कले पनि केही सहज बनाइदिएकाले पछिल्लो समय विद्युतीय सवारीमा आकर्षण बढेको र गत भदौमा भएको नाडा अटो सोले यो क्षेत्रको व्यवसायमा सुधार आएको व्यवसायीको भनाइ छ  ।

पछिल्लो समय दसैँमा सवारी र मोबाइल खरिदमा छुट दिने प्रचलन जस्तै बनेको छ । अटो कम्पनीहरूले छुटसहित आफ्ना ग्राहकका लागि घुमघामका अफर पनि सार्वजनिक गरिरहेका छन् । सवारी खरिद गर्दा नगद छुटसहित विभिन्न एक्सचेन्ज, निःशुल्क बिमा, सडक दस्तुर तिर्नु नपर्ने, चार्जर र स्पेयर टायरलगायतमा विशेष छुटका योजना सार्वजनिक गरेका छन् । 

राजधानीको शङ्खमूलस्थित कामना ब्युटिपार्लरकी सञ्चालक कृष्णमाया श्रेष्ठले यस पटक दसैँमा व्यापार बढ्न नसकेको बताउनुहुन्छ। विगतका दसैँमा कस्मेटिक सामान खरिदका साथै टेलरमा नयाँ कपडा सिलाउन धेरै मानिस आउने गरे पनि यस पटक कम मात्र आएको उहाँको अनुभव छ । दसैँको समयमा गत वर्ष भिड हुँदा कतिपय ग्राहकलाई फर्काउनु परेकोमा अहिले भने एक÷दुई जना मात्र आउने गरेको उहाँले बताउनुभयो । 

आर्थिक सङ्कटको मारमा घरेलु तथा साना उद्योग पनि परेका छन्। सञ्चालन हुन नसकेर त्यस्ता धेरै उद्योग बन्द हुने अवस्थामा पुगेका छन्। नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेश सिंहले साना तथा मझौला उद्योगीहरू २० देखि २५ प्रतिशत बन्द भएको जानकारी दिनुभयो । साना तथा घरेलु व्यवसायीले बैङ्कको ऋण तिर्न नसक्दा, ब्याज उच्च हुँदा आफ्नो उद्योग बन्द गरेर ट्रेडिङतिर लागेको उहाँको भनाइ छ । व्यवसाय राम्रोसँग चल्न नसकेपछि कतिपय भने वैदेशिक रोजगारीतिर लागेका छन् । यस्तै सुनचाँदी व्यवसायमा पनि कारोबार बढ्न सकेको छैन । मूल्य उच्च भएको र उपभोक्तासँग खरिद गर्ने रकम नभएकाले पनि चाडपर्वमा पनि विगतका वर्ष जस्तो कारोबार बढ्न नसकेको व्यवसायीको भनाइ छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पछिल्लो समय सुनको मूल्य घटेकाले कारोबारमा सामान्य सुधार आएको छ ।