• ३० वैशाख २०८२, मङ्गलबार

गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

blog

मकवानपुरको राक्सिराङ –९, मा सामाजिक सुरक्षा भत्ता वितरण गरिदै । तस्बिर : अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, कात्तिक १ गते । मकवानपुरको राक्सिराङ गाउँपालिकाले गाउँटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । विकट गाउँबाट गाउँपालिका कार्यालयमा रहेको बैङ्कमा भत्ता लिन आउँदा लामो समय हिँड्नुपर्ने र गाडी चल्ने ठाउँबाट पनि महँगो भाडा तिरेर ओहोरदोहोर गर्नुपर्ने बाध्यता सहज गर्दै गाउँपालिकाले गाउँटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।

राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले दसैँको मुखमा गाउँटोलमै सामाजिक सुरक्षा भत्ता बोकेर पुगेपछि ज्येष्ठ नागरिक र गाउँबासी खुसी हुनुभएको बताउनुभयो । बैङ्कका कर्मचारीसहित गाउँपालिका अध्यक्ष गाउँटोलमै पुगी सामाजिक सुरक्षा भत्ता वितरण गरिँदा स्थानीय ज्येष्ठ नागरिकले ठुलो राहत महसुस गर्नुभएको उहाँको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष मल्लसहितको टोली वडा –९ को जनतालाई भत्ता वितरण गर्न पुग्नुभएको थियो । राक्सिराङ –९ को अठारे ह्याक्ती बस्ने ९१ बर्षीया गौरी सुनारलाई ज्येष्ठ नागरिक भत्ताको ३ महिना बराबरको रकम हस्तान्तरण गर्दै औपचारिक कार्यक्रम सुरु गरिएको थियो । 

करिब एकसय २० जना ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको थियो । सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै प्राप्त गरेपछि अधिकांश बृद्धबृद्धाले आउँदो दिनमा पनि यसैगरी भत्ता प्राप्त गर्न गाउँपालिका अध्यक्षलाई अनुरोध गर्नुभयो । 

वडा ९ का अध्यक्ष रामकुमार बाल्पा थिङले वर्षाका कारण बाटो बिग्रिएको र घण्टौँ हिँडेर गाउँपालिका कार्यालयसम्म पुगेर भत्ता लिन असहज भएकाले वडाबाटै भत्ता वितरण गरिएको बताउनुभयो । 

गाउँपालिकाले राक्सिराङ–४ घोरकोटेका सन्तबहादुर नेपालीलाई खाद्यान्नसहित रकम सहयोग गरेको छ । दुधेवालकसहित १४ जनाको परिवार रहेको नेपालीलाई दसैँ मान्न खाद्यान्न चामल, तेल, दाल र नुनसहित नगद सहयोग गरेको छ । पालिकाले यसअघि वडा ६, ७ र ८ मा असोज २५ गते नै भत्ता वितरण गरिसकेको छ ।