• १५ मंसिर २०८१, शनिबार

मुस्ताङको संस्कृतिप्रति सरकार संवेदनशील छ : प्रधानमन्त्री

blog

प्रधानमन्त्री प्रचण्ड मुस्ताङका स्थानीयसँग छलफल गर्नुहुँदै । तस्विर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, कात्तिक १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनका कारण मुस्ताङको ऐतिहासिकता, भौगोलिकता, संस्कृति र परम्परामा पुगेको क्षतिबारे सरकार संवेदनशील भएको बताउनुभएको छ । 

जलवायु परिवर्तनका कारण मुस्ताङमा पुगेको क्षतिलाई न्यूनीकरण गर्न र आगामी दिनमा कुनै घटना हुन नदिन सरकारले प्राथमिकतामा राखेर काम गर्ने उहाँको भनाइ छ । 

जलवायु परिवर्तनले मुस्ताङलगायतका जिल्लामा पुगेको क्षति र यसको रोकथामका लागि अन्तर्राष्ट्रियस्तरमा ध्यानाकर्षण गराइएको समेत प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।  

जलवायु परिवर्तन र उच्च तापमान वृद्धिका कारण देखिएका चुनौतीबारे सरकार र जनताबिच संवाद गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले प्रधानमन्त्री प्रचण्डसँग बुधवार बिहान जोमसोममा आयोजना गरिएको जलवायु संवाद कार्यक्रममा प्रधानमन्त्रीले मुस्ताङको समस्या राष्ट्रिय चुनौती मात्र नभएर यो अन्तर्राष्ट्रिय चुनौती भएको बताउनुभयो ।  

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘जलवायु परिवर्तनका कारण भएको क्षतिलाई कम गर्न र क्षतिलाई रोक्न सरकार गम्भीर ढङ्गले लागेको छ ।’ यहाँ कृषि, उत्पादन, पर्यटन र यहाँका अनेक व्यवसायमा जलवायु परिवर्तनबाट  पुगेको क्षतिलाई रोक्न  नेपाल सरकार गम्भीर तवरले लागेको भन्दै प्रधानमन्त्री प्रचण्ड मुस्ताङवासीलाई आश्वासन दिनुभयो ।  

उहाँले भन्नुभयो, ‘‘जलवायुसँग सम्बन्धित अन्तर्राष्ट्रिय सहयोग सरकारलाई प्राप्त हुँदैछ । नेपाल सरकारलाई प्राप्त भएको उक्त पचास करोड रुपियाँ सहयोग मुस्ताङलाई दिंदैछौं । यसबाट हजुरले बुझ्न सक्नुहुन्छ कि मुस्ताङको ऐतिहासिकता, भौगोलिकता संस्कृति, परम्परा र उत्पादनप्रति सरकार संवेदनशील छ भन्ने यो गतिलो प्रमाण हो ।’’

‘दक्षिण एसिया र खासगरी हिमालय पर्वतमाला शृङ्खलामा हिउँ पग्लिने क्रम सुरु भएको छ जसले यहाँको जनजीवन, वातावरण र इकोसिस्टममा प्रभाव परेको छ यो निकै गम्भीर प्रकृतिको विषय हो’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘यो कुरालाई नेपाल सरकारले अन्तर्राष्ट्रिय मञ्चमा गम्भीरतापूर्वक राखेर विषय उठान गरेको छ  र अन्तर्राष्ट्रिय जगतको गम्भीरतापूर्वक ध्यानाकर्षण भएको छ ।’’ 

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिँदा नेपालमा जलवायु परिवर्तनले भएको भयानक असर र त्यसबाट जनधनमा पुगेको क्षतिबारेमा विषय उठाएको उहाँको भनाइ छ । हिमाल र हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पुगाएको क्षतिलाई न्यूनीकरण गर्न विश्व समुदायले ध्यान दिनुपर्ने महासभामा आफूले कुरा उठाएको बताउनुभयो । 

साथै, प्रधानमन्त्री प्रचण्डले बाढीले क्षति पुगेको मुस्ताङको कागबेनी पुनः निर्माणका लागि सरकार गम्भीर भएको बताउनुभयो । गत साउनमा आएको बाढीका कारण कागबेनीमा ठुलो भौतिक क्षति पुगेको छ । सरकारले क्षतिको विवरण सङ्कलन गरेको र अब पुनः निर्माण योजना सञ्चालन गर्ने उहाँले बताउनुभयो । 

तथ्याङ्कसहितको रिपोर्ट गृह मन्त्रालयमा प्राप्त भएको भन्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘कागबेनी पुनः निर्माणका लागि सरकारले पहिलो प्राथमिकतामा राखेर काम गर्दैछ ।’’

कार्यक्रममा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अधिकारी, स्थानीय राजनीतिक दलका प्रतिनिधि र स्थानीयवासीले मुस्ताङमा जलवायु परिवर्तनका कारण पुगेको असर बारेमा प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएका थिए ।