• १२ असार २०८१, बुधबार

ट्विनेटर विमान खरिद गर्ने प्रक्रिया रोकिँदैन : मन्त्री किराँती

blog

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती । तस्बिर : शशिधर पराजुली

शशिधर पराजुली
विराटनगर, कात्तिक १ गते ।
पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विकट क्षेत्रका नागरिकलाई सेवा दिन ट्वीनेटर विमान खरिद गर्ने प्रक्रिया नरोकिने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज (बुधबार) बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै मन्त्री किराँतीले पहाडी र हिमाली क्षेत्रका जनताले सधैँ कष्टपूर्ण यात्रा गरिरहनुपर्छ भन्ने मान्यतामा आफू नरहेको भन्दै जनताको सेवाका लागि जहाज अभाव भएकोले खरिद गर्न लागेको बताउनुभएको हो ।

विकट गाउँका महिला सुत्केरी हुन नसक्दा सबैले हेलिकोप्टर चार्टर गर्न सक्ने अवस्था नहुँदा मृत्युवरण गर्नुपर्ने परिस्थिति रहेका कारण पनि नेपाल वायु सेवा निगमले जहाजको आवश्यकता महसुस गरिरहेको उहाँको भनाइ थियो ।

जहाज खरिदका लागि आर्थिक स्रोत कसरी जुटाउनुहुन्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘‘मुख्य कुरा स्रोतको होइन् आवश्यकता हो कि होइन भन्ने हो ।  आवश्यकता हो भने सरकारले स्रोतको प्रबन्ध गर्छ, हामी स्रोतको व्यवस्था मिलाउँछौं ।’’

निगमले १० वटा ट्वीनेटर विमान खरिद गर्ने प्रक्रिया अगाडि बढाएको र यसै आर्थिक वर्षभित्र जहाज आइसक्ने उहाँले बताउनुभयो ।

यसैबीच मन्त्री किराँतीले विराटनगर विमानस्थलभित्र सञ्चालित पसल तथा क्यान्टिनहरुको अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा पानी लगायतका पेय पदार्थ तथा जङ्क फुडहरु लेज, चाउचाउ आदिमा उल्लेख गरिएको अधिकतम बिक्री मूल्यभन्दा तीन गुणा बढीसम्ममा बिक्री गर्ने गरेको पाइएको थियो ।

मन्त्री किराँतीले आजैबाट एमआरपीमा उल्लेख भएभन्दा बढी मूल्य लिएर बिक्री गर्नेलाई कारवाही गर्न निर्देशन दिनुभयो । उहाँले अबदेखि उपभोक्तासँग बढी मूल्य लिएको पाइएमा कुनै मौका नदि कारवाही गर्ने चेतावनी पनि दिनुभयो ।

राष्ट्रिय सहमतिको सरकार आवश्यक
राजनीतिक विषयमा संक्षिप्त टिप्पणी गर्नुभएका मन्त्री किराँतीले मुलुकमा राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुभयो ।

अहिले देशको अवस्थालाई हेरेर मुलुक निर्माणका लागि एकपटक सबै मिल्नुपर्ने उहाँको भनाइ थियो । ‘‘यो देश सबै मिलेर बनाउनु पर्छ, मुलुकको अवस्था राम्रो छैन, भ्रष्टाचार, बेथिति र राजनीतिक अस्थिरता छ,’’ मन्त्री किराँतीले भन्नुभयो, ‘‘त्यसैले देश बनाउने, भ्रष्टाचार हटाउने काम सबै मिलेर मात्र सम्भव छ त्यसैले एक पटक सबै मिलेर राष्ट्रिय सहमतिको सरकार बनाऔं ।’’