गुणबहादुर रोका
सुलीकोट, कात्तिक १ गते । पर्यटकीय गन्तव्यका रूपमा चिनिने गोरखाको बारपाक र लाप्राक जोड्ने सडकखण्ड झन्डै चार महिनापछि सञ्चालनमा आएको छ । पूर्वाधार कार्यालय गोरखाको सहयोगमा ठुलो जेसिबी लगाएर सात दिनसम्म पहिरो पन्छाएपछि मङ्गलबारदेखि बारपाक–लाप्राक सडकखण्ड सञ्चालनमा आएको हो ।
गत असार महिनादेखि बाढी र पहिरोले क्षतिग्रस्त ग्रामीण सडक खुलाउन सात दिनसम्म ठुलो जेसिबी प्रयोग गरिएको थियो । पूर्ण रूपमा क्षतिग्रस्त सडक मर्मत तथा पहिरो पन्छाएपछि मङ्गलबारदेखि सडक नियमित भएको पूर्वाधार कार्यालय गोरखाका इन्जिनियर सुनील कुशुहाले जानकारी दिनुभयो । उहाँका अनुसार बारपाक–सुलीकोट गाउँपालिका र धार्चे गाउँपालिका जोड्ने उक्त सडकखण्ड खुलेपछि मङ्गलबार नै यातायाताका साधन सञ्चालनमा आएका छन् । दसैँतिहार जस्ता चाडपर्वमा सर्वसाधारणको यात्रा सहज बनाउने उद्देश्यसहित अवरुद्ध भएको सडक खुलाउन पूर्वाधार विकास कार्यालय लागिपरेको पनि उहाँको भनाइ छ ।
सडक सञ्चालनमा आएपछि लाप्राकमा दैनिक उपभोग्य सामग्री पु¥याउन सहज भएको स्थानीय वीरबल गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चाडपर्वका बेलामा समेत भारी बोकेर खाद्य सामग्री लैजानुपर्ने बाध्यता अन्त्य भएको छ ।” चाडपर्व नजिकिएसँगै सडक मर्मत भएपछि लाप्राकदेखि गुम्दासम्म खाद्यान्न पु¥याउन, बिरामी ल्याउन लैजान सहज भएको छ ।