• ३० असोज २०८१, बुधबार

दसैँ यात्रा सहज बनाउन मर्मत गरिँदै राजमार्ग

blog

 मीना कँडेल

कावासोती, कात्तिक १ गते । स्तरोन्नति र निर्माणका लागि भत्काइएका व्यस्त राजमार्ग सवारीसाधन सञ्चालनका लागि सहज हुने गरी मर्मत गरिने भएको छ । राष्ट्रिय गौरवका रूपमा रहेको नारायणगढ–बुटवल सडकखण्ड विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा गैँडाकोटदेखि दाउन्नेसम्मको सडकखण्डमा सवारीसाधन सञ्चालन गर्न सहज हुने गरी मर्मत सुरु भइसकेको छ । आयोजनाका पूर्वी खण्डका आयोजना व्यवस्थापक राकेश झाले भन्नुभयो, “अहिले गैँडाकोटदेखि डन्डासम्म एक सिफ्ट र डन्डादेखि दाउन्ने अर्काे सिफ्ट गरी दुई चरणमा मर्मत भइरहेको छ । गैँडाकोटदेखि बेल्डियासम्म मर्मत सकिएको छ भने कावासोती, दलदले डन्डा, चोरमारामा मर्मत गरिँदै छ र सबै ठाउँमा गरिने व्यवस्थापक झाले बताउनुभयो । 

पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडकको पूर्वी खण्डको अहिलेसम्म ४१ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । पूर्वी खण्डमा कामदार प्राविधिक गरेर दैनिक ५३५ जनाले अहिले काम गरिरहेका छन् । उहाँले भन्नुभयो, “थप गरिएको समयमा काम सम्पन्न गर्ने गरी निर्माणलाई अगाडि बढाइएको छ ।” 

आयोजनाले सडक कालोपत्रे गर्ने कामलाई समेत निरन्तरता दिएको आयोजना व्यवस्थापक झाले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म पूर्वी खण्डमा १६ किमी बाटो कालोपत्रे गरिएको छ । उहाँले भन्नुभयो, “नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखी भत्किएको बाटो मर्मत गर्ने कामलाई पनि अगाडि बढाइएको छ । गैँडाकोटबाट भत्किएको बाटो मर्मत गर्ने र खाल्टाखुल्टी पुर्ने कामलाई निरन्तरता दिइएको छ ।” पूर्वी खण्डमा भएका साना पुलको काम सकिनुका साथै १२ ठुला पुलमध्ये ११ को सबस्ट्रक्चरको काम सकिएको सडक आयोजनाको पूर्वी खण्ड हेर्ने कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर धीरज ढकालले बताउनुभयो । 

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले गैँडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म ११५ किलोमिटर सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । नवलपरासी–बर्दघाट–सुस्तापूर्वको–गैँडाकोटदेखि दाउन्नेसम्म ६४ किमी सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४८ किमीलाई खण्ड ‘ख’ कायम गरी विस्तारको काम भइरहेको छ । 

सडक बस्ती क्षेत्रमा छ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्ने पहाडमा तीन लेन विस्तार गर्ने गरी एसियाली विकास बैङ्क एडिबीको ऋण सहयोगमा कुल १६ अर्ब ९९ करोड ५२ लाख रुपियाँ लागतमा राजमार्गको विस्तार सुरु गरिएको हो ।