उर्लाबारी समाचारदाता
उर्लाबारी, असोज ३० गते । राष्ट्रिय र सामुदायिक वन क्षेत्रमा जथाभाबी रूपमा निर्माण हुने चिहानले गर्दा वनको सौन्दर्य गुम्दै गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी मोरङको बेलबारीदेखि पथरीशनिश्चरे नगरको पूर्वी सीमाको उत्तरतर्फको जङ्गलमा रुखबिरुवाकै हाराहारीमा कङ्क्रटिका चिहान निर्माण भइसकेका छन् ।
आफन्तको मृत्युपश्चात् कतिपय जातिले प्रतिस्पर्धाकै रूपमा कङ्क्रटि चिहान बनाउने परम्परा रहेकाले जङ्गल क्षेत्र कङ्क्रटि चिहानले भरिभराउ भएको हो । सडकदेखि ५० मिटर अन्तरको दुरीमा चिहान बनाउनुपर्ने भए पनि नियम पालना नगरी कङ्व्रिmट चिहान बनाइँदा वातावरण प्रतिकूल हुनुका साथै घना जङ्गलसमेत पातलिन थालेको छ । कतिपय रुख कङ्व्रिmटका कारण सुकेर लड्न थालेका छन् भने कङ्व्रिmट चिहान वरिपरिका बिरुवा मर्न थालेका छन् ।
मृतकको अन्तिम संस्कार गरेपछि आत्माले शान्ति पाउने विश्वासका साथ केही धर्मावलम्बी र समुदायले कङ्व्रिmट चिहान बनाउने गर्छन् तर यसरी चिहान निर्माण गर्दा वातावरणलाई कुनै वास्ता नगरी बनाउने, प्रतिस्पर्धाकै रूपमा सबैभन्दा ठुलो र आकर्षक बनाउने होड चलेको छ ।
पूर्वी तराईका सुनसरी, मोरङ र झापा जिल्लाका मुख्य राजमार्ग आसपासमा बनेका कङ्क्रटि चिहानले पर्यावरणसमेत बिग्रिने सरोकारवाला बताउँछन् । मोरङको बेलबारी, कानेपोखरी, पथरी, उर्लाबारी, झापाको दमक, सुनसरीको इटहरी–धरान सडकखण्डमा रहेको वन क्षेत्रको आसपासमा निर्माण गरिएका भव्य र आकर्षक डिजाइनका कङ्क्रटि चिहान देख्दा पहिलो पटक त्यहाँ पुग्नेलाई सानोतिनो सहरकै झल्को लाग्छ ।
शान्ति सामुदायिक वन उपभोक्ता समूह पथरीशनिश्चरे–१ का अध्यक्ष कुलबहादुर गुरुङले भन्नुभयो, “संस्कृति जोगाउन र आफ्ना बुवाआमाको स्मृति जीवित राख्न निर्माण गरिएका चिहानले जङ्गल विनाश भइरहेको बुझेर नै सामुदायिक वन क्षेत्रमा कङ्व्रिmट चिहान बनाउन नदिने निर्णय भइसकेको छ । कतिपय इसाई धर्मावलम्बीले सानो स्तम्भ राख्नेबाहेक पूर्ण रूपमा रोकेका छौँ ।”
विगतमा जस्तो चिहान बनाउने होडबाजीको अन्त्य भइसकेको डिभिजन वन कार्यालय मोरङका सूचना अधिकारी रामलखन ठाकुरले बताउनुभयो । उहाँका अनुसार धर्म, संस्कार र संस्कृतिसँग जोडिएको विषय एकै पटक शून्यमा झार्न सकिन्न तर पनि विगतको तुलनामा कमी हुँदै आएको छ ।
यता पथरीशनिश्चरेकै हरियाली सामुदायिक वनले भने चिहानघारी फाँडेर सामुदायिक भवन र कम्पोस्ट मल भण्डारण केन्द्र निर्माण गरेको छ । वनका अध्यक्ष कावुलबहादुर मगरले भन्नुभयो, “हामीले १३० वटा चिहान हटाएर सामुदायिक भवन निर्माण ग-यौँ । अझै पनि कुनै कुनै समुदाय र धर्मावलम्बीले चिहान बनाउनुहुन्छ तर विगतमा जस्तो ठुलो होइन । हामीले जहाँ चिहान बन्छ, त्यस स्थानमा एउटा बिरुवा रोप्न अनिवार्य गरेका छौँ ।”