• १२ साउन २०८१, शनिबार

‘सत्यको खोज’, ‘कवि-कविताको छवि’ र ‘शास्त्रीय नेवार साहित्य’ प्रकाशित

blog

फाइल तस्बिर

काठमाडौंँ, असोज २९ गते । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र जनकवि दुर्गालाल श्रेष्ठका जीवनी तथा नेपालभाषा साहित्यसम्बन्धी प्राज्ञिक अनुसन्धानात्मक पुस्तक बजारमा आएका छन् । 

एजुकेसनल पब्लिसिङ हाउसद्वारा प्रकाशित ती कृतिमा जितेन्द्र रसिककृत जोशीको जीवनी ‘सत्यको खोज’ र आर मानन्धरकृत जनकवि दुर्गालालको जीवनी ‘कवि-कविताको छविः दुर्गालाल श्रेष्ठ’ तथा प्रा डा. कमलप्रकाश मल्लद्वारा ४४ वर्षअघि लिखित ‘क्लासिकल नेवार लिटरेचर’ (शास्त्रीय नेवार साहित्य)  छन् ।  

हालै आयोजित विमोचन कार्यक्रममा कवि श्रेष्ठले आफू अब आफ्नो शरीरमा हैन, जीवनी किताबमा रहेको बताउनुभयो । समीक्षक सुरेश किरणले दुर्गालाल जनताको कवि भएको र उहाँका बारे जान्न चाहनेलाई पुस्तक निकै महत्वपूर्ण रहेको बताउनुभयो । 

साहित्यकार तथा अधिकारकर्मी मल्ल के सुन्दर र प्रा.डा.अभि सुवेदीले ‘शास्त्रीय नेवार साहित्य’ प्राचीन नेपालभाषामा लेखिएका सयौँ कृतिको गम्भीर अनुसन्धानको नतिजा रहेको र यसले अन्वेषकहरुलाई अझै थप शोध-अध्ययनका लागि ढोका खोलिदिएको विचार राख्नुभयो । 

लेखक रसिकले जोशी युगको ज्योति भएको र उहाँका बारे जति लेखे पनि नसकिने बताउनुभयो । जीवनी लेखक मानन्धरले कवि दुर्गालाललगायत अग्रज भाषिक योद्धाहरुको योगदानका कारण आज तामाङ र नेपाल भाषाले बल्ल सरकारी मान्यता पाउन सफल भएको जनाउँदै अब उहाँहरुको अंश बोकेर आफूहरु सबै जाग्नुपर्ने औँल्याउनुभयो ।

समीक्षक गोपीकृष्ण ढुङ्गानाले सत्यको खोज जोशीको जीवनको गहिराइमा पसेर लेखिएको र पुस्तकका हरेक परिच्छेद अनुसन्धानमूलक भएको जिकिर गर्नुभयो भने जोशीका ज्येष्ठ सुपुत्र अणुराजले ‘सत्यको खोज’ भित्र आफ्ना पिताको इतिवृत्तान्त समावेश भएको स्वीकार्नुभयो । रासस