• १५ मंसिर २०८१, शनिबार

गुवेखोलामा पक्की पुल निर्माण

blog

फाइल तस्बिर

दमौली (तनहुँ), असोज २९ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका-१ र २ जोड्ने गुवेखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । नगरपालिकाको गौरवको योजनाका रुपमा रहेको उक्त पुल निर्माण सुरु भएको तीन वर्षमा सम्पन्न भएर आज उद्घाटन गरिएको हो । 

पुलको उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले पुल निर्माणसँगै यस भेगका नागरिकको दैनिकी परिवर्तन हुने विश्वास व्यक्त गर्नुभयो । यसअघि पुलको अभावमा आवागमनमा सास्ती हुने गरेकामा अब सहज भएको भन्दै कृषि उपज तथा अन्य वस्तु बिक्री वितरणका लागि सहयोग पुग्ने उहाँले बताउनुभयो । “प्रदेश सरकारले पूर्वाधार निर्माणमा जोड दिएको छ । पुल, सडक, खानेपानी लगायतका क्षेत्रमा सरकारको सहयोग सदैव रहन्छ”, आलेले भन्नुभयो, “प्रदेशलाई समृद्ध बनाउँदै नगरवासीलाई आधारभूत सेवा र सुविधा उपलब्ध गराउने अभियानमा सरकार लागि रहेको छ ।”

दुई करोड २६ लाखको लागतमा पुल निर्माण सम्पन्न भएको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार वि.सं.२०७७ पुस २८ गते उक्त पुलको शिलान्यास गरिएको थियो । पुल २० मिटर लामो र ६ मिटर चौडा रहेको छ । 

साबिकको थप्रेक गाविसलाई वडाको केन्द्रदेखि नगरको केन्द्रसम्म सहज सडक सञ्जालको पहुँचमा ल्याउने उद्देश्यले पुल निर्माण गरिएको नगर प्रमुख पण्डितले बताउनुभयो । “पुल निर्माण, सडक कालोपत्रलगायत पूर्वाधार विकासले मात्र समृद्धि आउँदैन । समृद्धिका लागि कृषिमा विकास तथा उत्पादनसँग जोडिनपर्छ”, उहाँले भन्नुभयो । पुल बनेपछि थप्रेकवासीले उत्पादन गरेको कृषि उपज बजारमा पुर्याउन सहज हुने नगर प्रमुख पण्डितको भनाइ थियो । 

गुवेखोलामा पुल नहुँदा थप्रेकवासीलाई बर्खाको समयमा निकै समस्या हुने गरेको थियो । अब उक्त समस्या हटेको शुक्लागण्डकी नगरपालिका-१ का वडाध्यक्ष रविचन्द्र पौडेलले बताउनुभयो । उहाँका अनुसार पुलकै अभावमा पाँच-सात मिनेटमा आवत-जावत गर्न सकिने यस ठाउँमा तनहुँको कोत्रे हुँदै गाडीबाट एक घण्टाभन्दा बढी समय खर्चिनुपर्ने बाध्यता अन्त्य भएको छ । 

तनहुँको कोत्रे हुँदै थप्रेक जोडिने मार्गलाई वि.सं.२०१८ मा सहिद लालध्वज गुरुङको सम्मानार्थ लालध्वज मार्ग नामकरण गरिएको थियो । तनहुँको सदरमुकाम दमौलीबाट स्याम्घा हुँदै थप्रेक जोडिने मार्गलाई सिन्धु मार्ग नामकरण गरिएको थियो । पछिल्लो समयमा दमौलीबाट थप्रेक हुँदै कोत्रेसम्म यो मार्ग जोडिने भएकाले यसलाई दमौलीबाट पोखराका लागि वैकल्पिक मार्गका रुपमा प्रयोग गरिदै आएको छ । रासस