• ३१ वैशाख २०८१, सोमबार

बीआरआईको तेस्रो सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठ

blog

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थानका क्रममा अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उहाँलाई गृहसचिव दिनेशकुमार भट्टराईले बिदाइ गर्नुहुँदै ।

काठमाडौं, असोज २९ गते । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय टोलीको नेतृत्व गर्नुहुँदै ‘तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन(बीआरएफ)’ मा सहभागी हुन आज सोमबार चीन जानुभएको छ । मङ्गलबार र बुधबार बेइजिङमा हुने बीआरएफमा ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारे समेत छलफल हुनेछ। सो कार्यक्रममा श्रेष्ठले “कि नोट स्पिच’’ दिनुहुने छ ।

सम्मेलनमा सहभागिताका लागि चीनका सार्वजनिक सुरक्षा र आपत्कालीन मन्त्री एवम् पार्टी कमिटीका सचिव वाङ सियाङसी र इकोलोजी तथा पर्यावरणमन्त्री हुआंग रुन्किउले उपप्रधानमन्त्री श्रेष्ठलाई नेपालको परराष्ट्र मन्त्रालयमार्फत छुट्टाछुट्टै निमन्त्रणा पठाउनुभएको थियो ।

वाङ चिनियाँ कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा स्टेट काउन्सिलर समेत हुनुहुन्छ । उपप्रधानमन्त्री श्रेष्ठ र उहाँबिच द्विपक्षीय सहयोग र सम्बन्धबारे वार्तालाप हुनेछ ।

सम्मेलनको पहिलो दिन साँझ चिनियाँ राष्ट्रपति सी जिनपिङले आयोजना गरेको रात्रिभोजमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ सहभागी हुनुहुने छ । सम्मेलनमा झण्डै तीन दर्जन देशका सरकार प्रमुख तथा राष्ट्राध्यक्षहरू सहभागी हुने बुझिएको छ ।

चीनले २०१७ मा पहिलो र २०१९ मा दोस्रो बीआरएफ आयोजना गरेको थियो । बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन र प्रगतिबारे समीक्षा गर्न सम्मेलन आयोजना गरिएको हो । बीआरआई सडक, पूर्वीय सभ्यताको विकास, देशहरूबिचको सहयोग एवम् भाइचारा र पर्यावरण लगायत दिगो विकासमा योगदान पुर्‍याउने चिनियाँ पहलको महत्त्वपूर्ण अन्तर्राष्ट्रिय परियोजना हो ।

भ्रमण टोलीमा गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराई, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, विपद् तथा जोखिम न्यूनीकरण प्राधिकरणका अनिल पोखरेल लगायत हुनुहुन्छ ।