इमान सिं राना
रामपुर (पाल्पा), असोज २९ गते । ग्रामीण बस्तीका नागरिकलाई पाल्पाको रामपुर नगरपालिकाले टोलटोल मै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । नगरको मुख्य बजार बेझाँडस्थित बैङ्क शाखाहरूबाट भत्ता उपलब्ध गराउँदै आएको पालिकाले दूरीको हिसाबले टाढा रहेका वडामा टोलबाटै वितरण थालेको हो ।
१० वडामध्ये वडा नं. १ र १० मा टोलबाटै आर्थिक वर्ष २०८०/०८१ को पहिलो त्रैमासिक भत्ता वितरण थालेको छ । वडा नं. १ को बर्दाकोट बाट टोलटोलमै भत्ता वितरण गर्ने कार्यको सुरुवात गरेको हो ।
जनप्रतिनिधि, नेपाल प्रहरी र नगर प्रहरीको उपस्थितिमा कृषि विकास बैङ्क रामपुर शाखाले भत्ता वितरण गरिरहेको छ । टोलबाटै भत्ता प्राप्त भएपछि ज्येष्ठ नागरिकहरू खुसी भएका छन् । रामपुर १ को बर्दाकोट टोल भत्ता बुझ्न आउनु भएका ९० वर्षीय थिर बहादुर थापा मगर गाउँबाटै भत्ता बुझ्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला मैले गाउँबाटै भत्ता बुझ्दै आएको थिएँ । बिचमा बैङ्क बाटै लिनु पर्ने भए पनि गाडी चढेर रामपुर पुग्नु पर्थ्यो । अहिले फेरि गाउँबाटै बुझ्न पाएँ खुसी लागेको छ ।”
रामपुर १ बर्दाकोटका ७१ वर्षीय ज्येष्ठ नागरिक पुन बहादुर सारुले टोलबाटै भत्ता बुझ्न पाउँदा निकै सहज भएको बताउनुभयो । “भत्ता बुझ्न टाढा जानु पर्दा आर्थिकको पनि समस्या हुन्थ्यो । वर्षादको समयमा त झनै समस्या । धेरै दुःख थियो, खर्च थियो । आर्थिक मामिलामा बचत पनि भएको छ ।”
रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँणले सरकारले दिने सेवा सुविधा प्राप्तिका लागि कष्टका साथ जानु पर्ने बाध्यतालाई मध्यनजर गर्दै वडा कार्यालय र टोलबाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको बताउनुभयो । वडामा ज्येष्ठ नागरिक, अपाङ्गता भएका र एकल महिला गरी ४३३ जना लाभग्राही रहेको जानकारी दिँदै उनीहरूलाई पायक पर्ने पाँच स्थानबाट भत्ता वितरण गरिएको जानकारी दिनुभयो ।
रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य दर्शन पण्डितले नगर कार्यपालिकाको बैठकले निर्णय अनुसार कृषि विकास बैङ्कसँग सम्झौता गरी बैङ्क कर्मचारीहरूको उपस्थितिमा भत्ता वितरणको व्यवस्था गरिएको जानकारी दिनुभयो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले दूरीका हिसाबले टाढा रहेका नागरिकहरूलाई सरकार भएको अनुभूति दिलाउन नगरका ग्रामीण भेग टोल बाटै सामाजिक सुरक्षा भत्ता वितरणको थालनी गरिएको बताउनुभयो । वडा दसैँ अगावै रामपुर नगरपालिका वडा नं. १ र १० मा टोलबाटै भत्ता वितरण गर्ने कार्यक्रम रहेको र लगतै त्यस पश्चात् वडा नं. ९ मा पनि टोलबाटै भत्ता वितरण गरिने बताउँदै उहाँले आवश्यकताको आधारमा नगरका अन्य स्थानमा पनि टोलबाटै वितरण गरिने जानकारी दिनुभयो । रामपुर नगरपालिकासँगै जिल्लाका अन्य स्थानीय तहहरूले पनि टोलबाटै भत्ता वितरण थालेको छ ।