• २ जेठ २०८२, शुक्रबार

डिजिटल प्रविधि र मिडियाबारे कार्यशाला

blog

कार्यशालामा सम्बोधन गर्नुहुँदै उच्च अदालत नेपालगन्ज इजलासका न्यायाधीश टङ्क गुरुङ्ग । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, असोज २९ गते ।
 डिजिटल प्रविधि र मिडियाबारे दुईदिने कार्यशाला नेपालगन्जमा सुरु भएको छ । पत्रकारहरूले डिजिटल प्रविधिको प्रयोग, सञ्चार सामग्री उत्पादन तथा प्रकाशन, सामाजिक सञ्जालको प्रयोग, खोजमूलक रिपोटिङ्गमा सूचनाको हकको प्रयोग र पत्रकार आचारसंहिताका विषयमा क्षमता अभिवृद्धि गर्न कार्यशाला सञ्चालन गरिएको हो ।

युएसएआईडी द एसिया फाउण्डेशनको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्वारा सञ्चालित “नागरिक समाज र मिडिया” परियोजनाअन्तर्गत आइतबारदेखि दुईदिन कार्यशाला सुरु भएको हो ।

कार्यशालाको शुभारम्भ गर्दै उच्च अदालत नेपालगन्ज इजलासका न्यायाधीश टङ्क गुरुङले पत्रकार भनेको समाजको ऐना भएकाले संवेदनशील भएर पेसा व्यवसाय गर्नुपर्नेमा जोड दिँदै कानुनको मापदण्डलाई विशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाँले नागरिकले बढी विश्वास गर्ने भएकाले पत्रकारले सत्य तथ्य सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिँदै सबै क्षेत्र वर्ग समुदायको संवेदनशीलता बुझेर मात्र पत्रकारिता गर्न आह्वान गर्नुभयो ।

न्यायाधीश गुरुङले अदालत तथा कानुनसँग जोडिएको विषयमा समाचार सम्प्रेषण गर्दा भाषा र कानुनी टर्मलोजीलाई बढी ध्यान दिनुपर्ने बताउनुभयो ।

सूचना तथा डिजिटल प्रविधि विज्ञ टङ्कराज अर्यालले अहिले डिजिटल प्रविधिको प्रयोग गर्दा नागरिकले प्रयोग गर्ने विभिन्न डिभाइसको सुरक्षाका लागि खासै ध्यान नदिएकाले विभिन्न डिजिटल समस्या निम्त्याउने गरेको बताउनुभयो ।

कार्यशालामा प्रविधि अधिकार, साइबर कानुन, मिडिया र डिजिटल प्रविधि, पत्रकारितामा डिजिटल प्रविधिको प्रयोग, सामाजिक सञ्जाल, फोटो, भिडियो, खोजमूलक रिपोर्टिङमा सूचनाको हकको प्रयोग, सार्वजनिक सरोकारको सवाल, पत्रकार आचारसंहिता लगायतका विषयमा टङ्कराज अर्याल, अधिवक्ता विश्वजित तिवारी, पत्रकार कृष्ण अधिकारी, राकेशकुमार मिश्र र रुपा गहतराजले सहजीकरण गर्नुहुने संस्थाका प्रोग्राम म्यानेजर रवीन्द्रकुमार ज्ञवालीले बताउनुभयो ।

उहाँका अनुसार संस्थाले अवधि र थारु भाषी १५ जना पत्रकारलाई आठ महिने फेलोसिप कार्यक्रम सञ्चालन गरेको छ । कार्यशाला आज सोमवार समापन हुनेछ ।