• ३१ वैशाख २०८१, सोमबार

देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ : डा भट्टराई

blog

चितवन,असोज  २९  गते । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले दलहरूले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ । पारिवारिक भेटघाटका क्रममा आज यहाँ आउनुभएका उहाँले पत्रकारसँग कुराकानी गर्दै सबै दलले देश र जनतालाई केन्द्रमा राख्न नसक्दा राजनीतिक अस्थिरता बढेको बताउनुभयो ।

“देश र जनतालाई केन्द्रमा राख्न नसक्नुको परिणाम कोशी प्रदेशमा देखिएको छ”, अध्यक्ष भट्टराईले भन्नुभयो, “दलका नेताले आफ्नो दल, गुट र सत्तालाई केन्द्रमा राखेर विधि र पद्धतिलाई मिच्ने काम भएको छ ।” यसले लोकतन्त्रको हित नहुने उहाँको भनाइ थियो । 

हामीले अपनाएको शासकीय प्रणालीले कसैलाई पनि बहुमत नदिने भन्दै भट्टराईले भन्नुभयो, “दलहरूले पहिले नै समझदारी गरेर निश्चित अवधिको निम्ति गठबन्धन टिकाउने काम गर्नुपर्‍यो, कि त निर्वाचन प्रणाली बदल्नु पर्‍यो ।” अहिलेको गठबन्धनले गठबन्धनको मर्मअनुसार काम गर्न नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “गठबन्धनको जुन मर्म छ त्यस अनुसार गठबन्धनमा रहेका दल र नेतृत्व गरेको सरकार चल्न सकेको देखिँदैन ।” 

अहिले देशको अर्थतन्त्र जटिल मोडमा रहेको बताउँदै अध्यक्ष भट्टराईले सरकारले गम्भीर भएर समस्या समाधान गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । देशलाई तीव्र औद्योगिक विकासको गतिमा लान नसक्दा अर्थतन्त्र कमजोर बन्दै गएको उहाँको भनाइ थियो ।  रासस