• १७ असार २०८१, सोमबार

खसी–बोका र च्याङ्ग्रा भोलि काठमाडौं आइपुग्ने, पर्सिदेखि बिक्री

blog

काठमाडौं, असोज २८ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याउने भनेको खसी, बोका तथा च्याङ्ग्रा भोलि काठमाडौं ल्याइसक्ने भएको छ । घटस्थापनाको आसपासमा पश्चिम क्षेत्रबाट ल्याउने भनेको तीन हजार खसी, बोका तथा च्याङ्ग्रा सोमबार बिहान काठमाडौं आइपुग्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “दशैँका लागि ल्याउने भनिएको खसी, बोका तथा च्याङ्ग्रा सकभर आज रातिसम्म आइपुग्ने जानकारी प्राप्त भएको छ, तर बाटोको अवस्था र ढुवानीका कारण ढिला हुने देखिएकाले भोलि बिहानसम्म काठमाडौँ आइपुग्छन् ।” बिक्री वितरण भने पर्सी मंगलबाट मात्र सुरु गरिने उहाँको भनाइ छ । यसपाली खसी र बोका दाङ्, धादिङ, हेटौडा तथा मकवानपुरबाट ल्याइँदैछ । च्याङ्ग्रा भने रसुवा जिल्लाबाट ल्याइने उहाँको भनाइ छ । २ हजार वटा खसी, बोका र एक हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको कम्पनीले ८ करोड ३६ लाख रुपियाँ बजेट छुट्याएको छ । 

२ हजार वटा खसी, बोका र एक हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको कम्पनीले ८ करोड ३६ लाख रुपियाँ बजेट छुट्याएको छ । 

गत वर्ष कूल एक हजार ६२५ खसी, बोका र च्याङ्ग्रा खरिद–बिक्री गरेको कम्पनीले २ करोड २६ लाख रुपियाँ खर्च गरेको थियो । प्रतिकेजी ६८० (जिउँदो) खसी–बोका र एक हजार २५० प्रतिकेजी च्याङ्ग्रा बेचेको थियो । त्यसबापत कम्पनीलाई ५ लाखभन्दा बढी फाइदा भएको सूचना अधिकारी न्यौपानेले बताउनुभयो । 

न्यौपानेले भन्नुभयो, “सुपथ मूल्यमा खसी–बोका उपलब्ध गराउँदा घाटा लाग्नु स्वाभाविकै हो । तर, गत वर्ष पाँच लाख २६ हजार रुपियाँभन्दा बढी फाइदा भएको थियो  । कम्पनीले बजारभाउभन्दा प्रतिकेजी १० रुपियाँ सस्तोमा खसी, बोका र च्याङ्ग्रा उपलब्ध गराएको थियो ।” 

यस वर्ष पनि कम्पनीले जिउँदो खसी बोका तथा च्याङ्ग्रा बजारमूल्यमा प्रतिकेजी १० रुपियाँले सहुलियत दिने तयारी गरेको उहाँको भनाइ छ । खाद्यले खसी, बोका तथा च्याङ्ग्रा थापाथलीस्थित वितरण केन्द्रबाट बिक्री गरिने उहाँले बताउनुभयो ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।