• १५ मंसिर २०८१, शनिबार

ताप्लेजुङमा मौलाउँदै छ जनश्रमदान संस्कार

blog

फक्ताङ्लुङ गाउँपालिकामा श्रमदानमार्फत पहिरोले क्षति गरेको सडक मर्मतको काम गर्दै स्थानीय । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा पछिल्लो समय जन श्रमदान गर्ने संस्कृति बढ्दैगएको छ । श्रमदान गर्ने चलन हराउँदै गइरहेको समयमा हाल स्थानीय तहका जनप्रतिनिधि स्वयम् अग्रसर हुन थालेपछि पुनः श्रमदान गर्ने संस्कार मौलाउँदै गएको हो ।

स्थानीय तहका पदाधिकारी हुँदै वडाका जनप्रतिनिधि श्रमदान गर्नमा अग्रसर हुन थालेसँगै गाउँ–गाउँमा भौतिक पूर्वाधारसहितका निर्माण कार्यहरू श्रमदानमार्फत गर्न थालिएको छ । अहिले एक अर्को स्थानीयबिचमा प्रतिस्पर्धाझैँ श्रमदानमार्फत सडक, पुलपुलेसा, गोरेटो बाटो, खेलमैदान निर्माणदेखि सार्वजनिक सम्पत्ति तथा स्थलको सरसफाइलगायतका काम गरिँदैआएको छ ।

जिल्लाको मैवाखोला गाउँपालिकाले लाखौँ रुपियाँ खर्च हुनसक्ने काम पहिरोपीडितका लागि अस्थायी आवास घर निर्माणको कार्य श्रमदान गरेरै सम्पन्न गरेको छ । साँघुका पहिरो पीडित ६५ परिवारलाई सुरक्षित ठाउँमा बसोबासको व्यवस्था गर्न गाउँपालिकाले ६५ वटा अस्थायी आवास घर श्रमदानबाटै निर्माणगरी सम्बन्धित पीडित परिवारलाई हस्तान्तरण पनि गरिसकेको छ । 

यस्तै, बर्खा मौसममा बाढीपहिरोले क्षति गरेको मोटरेबल पक्की पुल, अस्थायी काठेपुल, सडकजस्ता क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्निर्माण कार्य पनि श्रमदानमार्फत नै गरी सञ्चालनमा ल्याएका छन् । जिल्लाका नौवटै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा भएका सार्वजनिक महत्वका क्षतिग्रस्त संरचनाको मर्मत सम्भारका कार्य श्रमदानबाट नै गरिरहेका छन् । 

फक्ताङ्लुङ गाउँपालिकाले यातायात नै अवरुद्ध हुनेगरी सिस्ने खोलामा बाढी आएर बगाएको काठेपुल श्रमदानबाटै पुनः निर्माणगरी सडक सञ्चालनमा ल्याएको छ । आठराई त्रिवेणी गाउँपालिका, मौवाखोला गाउँपालिका र मेरिङ्देन गाउँपालिका जोड्ने मैवाखोलास्थित पक्की पुलको दायाँ–बायाँ सडकसमेतमा बाढीपहिरोले क्षतिग्रस्त बनाएपछि श्रमदान मार्फत नै पुनर्निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

त्यस्तै, बाढीले क्षतिग्रस्त बनाएको जिल्लाको पूर्वी सिदिङ्वा गाउँपालिका र पाँचथरको थर्पु जोड्ने इन्द्रावती खोलाको पुललाई श्रमदानमार्फत नै मर्मतगरी यातायात सञ्चालनमा ल्याइएको छ । त्यसैगरी बर्खा मौसम असार र साउन महिनामा बाढीपहिरोले जिल्लाका अधिकांश ग्रामीण सडकमा क्षति गरेको र उक्त क्षतिग्रस्त सडकहरू श्रमदान गरेरै पुनर्निर्माण साथै मर्मत गरेर हाल सञ्चालनमा ल्याएका छन् । 

सम्बन्धित स्थानीय तहसँग भएको एक्स्काभेटर, जेसीभीलगायतका उपकरण प्रयोग गरेर साथै जनप्रतिनिधि र स्थानीय सर्वसाधारण समेतको सहभागितामा श्रमदान गरिँदैआएको छ । यता नेपालीहरूको मुख्य चाड दसैँ–तिहार नजिकिएसँगै आजभोलि श्रमदान गर्ने कार्य तीव्र रूपमा हुन थालेको छ । 

प्रत्येक वडा तथा टोल–टोलका नागरिक जुटेर बाटोघाटो, पुलपुलेसा, पाटीपौवालगायतका सार्वजनिक संरचना तथा स्थलको पुनर्निर्माण, मर्मत र सरसफाइका कामहरू श्रमदानमार्फत गरिँदैआएको मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु लामाले जानकारी दिनुभयो ।