• १५ मंसिर २०८१, शनिबार

प्रिया र देवराजलाई प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसको उपाधि

blog

नेपाल रन बेलायत र धरान रनको संयुक्त आयोजनामा शनिबार भएको प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ किलोमिटर दौड प्रतियोगिता । तस्बिर :निशा राई

निशा राई
धरान, असोज २७ गते  । 
प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसको २१ किलोमिटर दौडमा महिलातर्फ खोटाङका प्रिया राई र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबको देवराज बस्नेत प्रथम हुनुभएको छ ।

नेपाल रन बेलायत र धरान रनको संयुक्त आयोजनामा शनिबार भएको प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ किलोमिटर दौडमा पुरुषतर्फ बस्नेतले एक घण्टा ३२ मिनेट २५ सेकेण्डमा दौड पूरा गर्नुहुँदै प्रथम हुनुभएको हो । त्यस्तै, महिलातर्फ राईले दुई घण्टा दुई मिनेटमा दौड पूरा गर्दै विजेता हुनुभयो ।

यसैगरी, पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका गोविन्द कार्की एक घण्टा ३४ मिनेट ४७ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो हुनुभयो भने महिलातर्फ धरानकै कल्पना राईले दुई  घण्टा ८ मिनेट ४९ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो हुनुभएको छ ।

यसैगरी, पुरुषतर्फ ताप्लेजुङका रमेश लिम्बुले एक घण्टा ३४ मिनेट ५० सेकेण्डमा दूरी पार गर्दै तेस्रो हुनुभयो भने महिलातर्फ भोजपुरकी जुलिन राईले दुई घण्टा १२ मिनेट २९ सेकेण्डमा दौड पूरा गरेर तेस्रो हुनुभयो ।

करिब एक सय ५० जनाको सहभागी दौड नेपालकै सर्वाधिक धेरै धावक धाविकाहरू साथै जर्मन, बेलायत र छिमेकी देश भारतको सहभागी रहेको धरान रनको अध्यक्ष रोमु राईले जानकारी दिनुभयो ।

महिला र पुरुष दुवैका प्रथम, दोस्रो र तेस्रो विजेताहरूलाई क्रमशः नगद ३० हजार, २० हजार, १० हजार नगद रकमसहित मेडल र प्रमाणपत्र पुरस्कार रहेको  थियो । विजेताहरूलाई धरान उपमहानगरपालिकाको प्रमुख हर्कराज राईले पुरस्कार प्रदान गर्नुभएको थियो । 

यसैगरी भेट्रान पुरुषतर्फ धरानका वर्ष ५१ का मङ्गल तामाङ प्रथम हुनुभएको थियो भने महिला तर्फ जमुना लिम्बु प्रथम हुनु भएको थियो । भेट्रान प्रतिस्पर्धामा प्रथम महिला पुरुष विजेताहरूलाई नगद ५ हजार रुपियाँ सहित मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो । 

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ किलोमिटर दौडमा ओशो पार्क देखि चिन्डे डाँडा, विष्णुपादुका भन्ज्याङ देखि ब्रिटिस पार्क हुँदै पुनः सोही बाटो हुँदै ओशो पार्क नै समापन भएको थियो ।

धरान रन प्रत्येक शनिबार करिब १२ वर्ष देखि धरान–८ स्थित यलम्बर पार्कबाट तीनकुनेसम्म हुने गरेको छ । यसबाट अल्ट्रा रनरहरूलाई सहयोग गरेको र यसले विश्वमा नेपालको नाम र धरानलाई चिनाउने काम गर्दै आएको अध्यक्ष रोमु राईले बताउनु भयो ।