नारायणगढ (चितवन), असोज २७ गते । चितवनको कालिका नगरपालिकाले आफ्नो पालिकाभित्र रहेका सात सय ९४ घर परिवारको निः शुल्क स्वास्थ्य बिमा गरेको छ । ‘नगर प्रमुख विपन्न स्वास्थ्य बिमा कार्यक्रम’ अन्तर्गत ती परिवारमा रहेका तीन हजार एक सय ७७ जनाको स्वास्थ्य बिमा गरिएको हो ।
पालिकाभित्र रहेका विपन्न परिवारका लागि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याइएको हो । यस कार्यक्रमका लागि पालिकाले ३० लाख बजेट विनियोजन गरेको छ । त्यसमध्ये अहिलेसम्म २८ लाख ४३ हजार तीन सय बराबरको बिमा भइसकेको छ ।
नगरप्रमुख विनोद रेग्मीका अनुसार विपन्न परिवारलाई पालिकाले बिमा गरिदिएको हो । उहाँले भन्नुभयो, “चेपाङ समुदायको प्रदेश सरकारले बिमा गरिरहेकाले सो समुदायबाहेक अन्य समुदायका विपन्न परिवारको बिमा नगरपालिकाले आफ्नै बजेटमार्फत गरेको हो ।”
अहिले बिमा भएका परिवारको आगामी मङ्सिर १ गतेदेखि लागू हुनेछ । विपन्न परिवारले उपचारका लागि आर्थिक सहयोग माग्नु नपरोस् भन्ने उद्देश्यका साथ बिमा कार्यक्रम गरिएको जनाउँदै उहाँले भन्नुभयो, “विपन्न परिवारका लागि पनि स्थानीय सरकार भएको अनुभूति हुने गरी काम गर्दै आएका छौँ ।” नगरपालिकाभित्र स्वास्थ्य उपचारका लागि कोही पनि वञ्चित हुन नपरोस् भनेर यो कार्यक्रम ल्याइएको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य नगरपालिका निर्माणका लागि यो कार्यक्रम प्रभावकारी बन्ने उहाँको भनाइ छ ।
पालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएकाका लागि यसअघि नै घरघर पुगेर नियमित स्वास्थ्य परीक्षण गर्दै आएको छ । पालिकाभित्र रहेका ज्येष्ठ नागरिक, अपाङ्गता भएकाको प्रत्येक दुई महिनामा घरमा नै गएर स्वास्थ्य परीक्षण गर्ने गरिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीले जानकारी दिनुभयो । रासस