पोखरा समाचारदाता
पोखरा, असोज २७ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले जनताको पक्षमा काम गर्ने बताउनुभयो। गृह जिल्ला गोरखामा नेपाली कांग्रेस जिल्ला पार्टीले आज आयोजना गरेको जिल्ला सम्मेलनमा उहाँले गण्डकी सरकार जनताप्रति उत्तरदायी भएको स्पष्ट पार्नुभएको हो।
पाण्डेले सरकारले आफ्नो क्षमताले भ्याएसम्म काम गर्ने बताउनुभयो। नेपाली कांग्रेसलाई कमजोर बनाएर देशले हासिल गरेको उपलब्धि उल्ट्याउन खोजिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “उपलब्धि उल्ट्याउने र कांग्रेसलाई कमजोर बनाउने खेल खेल्नुभन्दा प्राप्त उपलब्धिको रक्षा गर्दै देश विकासमा अघि बढ्नुपर्ने समय आएको छ ।”
गोरखाको नेपाली कांग्रेसभित्रको एकता र आत्मीयतालाई कायम राख्नुपर्ने बताउँदै उहाँले कहिलेकाहीँ खलबल्याउने प्रयत्न देखिने गरेको बताउनुभयो। “अधिवेशन, महाधिवेशन, निर्वाचनको टिकटका विषयलाई लिएर सङ्गठन कमजोर बनाउने होइन सङ्गठन सुदृढ बनाएर आगामी निर्वाचनमा अघि बढ्ने हो।”