• ११ मंसिर २०८१, मङ्गलबार

विद्यालय समुदाय सम्बन्ध

blog

विगतमा विद्यालय सञ्चालनको सम्पूर्ण जिम्मा केवल सरकारको नै हो भन्ने आमधारणा थियो । पछि यस धारणा हटेर नागरिक समाज र विशेष गरी अभिभावकको प्रतिनिधिमूलक संस्था विद्यालय व्यवस्थापन समितिलाई अधिकार सम्पन्न र विद्यालयको महत्वपूर्ण अङ्गका रूपमा स्थापित गर्ने दृष्टिकोणबाट विद्यालय समुदाय सम्बन्ध अवधारणाको विकास हुंँदै गएको हो ।

समुदायमा रहेका स्रोतहरू विद्यालयका लागि परिचालन गरिनु पर्दछ । तथापि समुदायमा रहेका स्रोतसाधन विद्यालयका लागि परिचालन हुन नसक्नु, विद्यालयमा अनावश्यक रूपमा राजनीतीकरण हुनु, विद्यालयले लिनुपर्ने सहयोग, साधनका सुविधा लिन नसक्नु जस्ता समस्या तथा चुनौतीले विद्यालय व्यवस्थापन अपेक्षित रूपमा प्रभावकारी हुन नसकेको हो । यो अवस्थामा समुदायलाई विद्यालयप्रति जिम्मेवार बनाउन सके मात्र हाम्रा विद्यालय राम्ररी सञ्चालन हुन सक्ने छन् । यस सन्दर्भमा नागरिक समाज र विद्यालयले संयुक्त कार्यक्रमहरू आयोजना गरेर, अनिवार्य रूपमा अभिभावक दिवस जस्ता कार्यक्रमको आयोजना गरेर, विद्यालयका विशेष शुभचिन्तक तथा दाता परिवारलाई समय समयमा उचित सम्मान गरेर, समुदाय र विद्यालयको उन्नतिका लागि समुदायको बैठक आयोजना गरेर समाज र विद्यालयबिचको सम्बन्ध जोड्न सकिन्छ । 

साथै शिक्षाको गुणात्मक विकासका लागि विद्यालयको शैक्षिक भौतिक तथा आर्थिक व्यवस्थाको नियमित निरीक्षण र रेखदेख गर्ने काममा समुदायलाई जिम्मेवारी गराउन सकिए मात्र समुदाय र विद्यालयबिच सुमधुर सम्बन्ध कायम हुन सक्दछ । तसर्थ, कुनै पनि विद्यालयमा स्रोतसाधन जुटाउनेदेखि लिएर यसका शैक्षिक क्रियाकलाप निरीक्षण, रेखदेख र मूल्याङ्कन गर्ने जिम्मा समुदायलाई जिम्मा लगाउनु पर्दछ । त्यस्तै व्यवस्थापन समितिलाई शैक्षिक जनजागरण सञ्चालन गर्ने, विद्यालय भवन निर्माणका लागि जग्गा पनि उपलब्ध गराउने, ती आवश्यक भवनहरू निर्माण गर्न आर्थिक सहायता उपलब्ध गराउने, विद्यालयको फर्निचर, पिउने पानी, चर्पीको व्यवस्था गर्ने, वातावरणीय सरसफाइ गर्ने जस्ता भौतिक कार्यहरू गर्नुका साथै शिक्षक विद्यार्थीको नियमित उपस्थिति हेर्ने, शिक्षकको सुपरिवेक्षण जस्ता कार्य गर्न वातावरण पनि मिलाउन समुदायलाई सचेत र सक्रिय गराउन सकेमा विद्यालयको समुचित विकास भई गुणस्तर शिक्षा प्रदान गर्ने काम सहज हुन सक्दछ ।

अर्थात् उपरोक्त नीति तथा सिद्धान्तलाई मूर्त रूप दिन शिक्षक तथा अभिभावक सङ्घ दुवैलाई सक्रिय बनाउने, विद्यालयको नीति तथा कार्यक्रम निर्माण सञ्चालनमा बुद्धिजीवी अभिभावकलाई अनिवार्य रूपमा संग्लग्न गराउने, विद्यालय क्षेत्रको समुदायको आवश्यकता पहिचान गरी आवश्यक सहयोग गर्ने आदि गर्न सकिन्छ । साथै शिक्षकहरूले पनि स्थानीय अभिभावक तथा समुदायका समाजसेवी तथा प्रबुद्ध वर्गसँग अनिवार्य रूपमा भेटघाट अन्तर्क्रिया गर्ने, स्थानीय चाडपर्वदेखि अन्य सांस्कृतिक भेला वा समारोहमा आत्मीयता साथ सहभागिता गराउने, विद्यालय दिवस, अभिभावक दिवसमा अनिवार्य रूपमा सामुदायिक महानुभावलाई निम्त्याउने गर्नु पर्छ । 

विद्यालयको आयव्यय, वार्षिक कार्यक्रम, प्रगति प्रतिवेदन आदिको बारेमा समुदायलाई जानकारी दिएर पारदर्शी नीति लिने अर्थात् अन्त्यमा विद्यालय व्यवस्थापन समिति, अभिभावक सङ्घ, शिक्षक अभिभावक, विद्यार्थी स्थानीय निकाय, गैरसरकारी संस्था सहकारी सङ्घ संस्था आदिबिच अद्यावधिक रूपमा समन्वय र सहकार्य गर्ने गर्न सकिन्छ । वास्तवमा भन्ने हो भने कुनै पनि विद्यालय समाजमा स्थापित एक व्यवस्थित किसिमको शिक्षा प्रदान गर्ने औपचारिक संस्था हो । कारण कुनै पनि विद्यालयको स्थापना समग्रमा व्यक्ति र समाजकै हित तथा भलाइका लागि भएको हुन्छ । विद्यालयले सामाजिक, सांस्कृतिक मूल्य मान्यता तथा आदर्शलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न र संस्कृतिको संरक्षण गर्नुका साथै संवर्धनसमेत गर्न महìवपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । विद्यालय वास्तवमा कुनै पनि समाजको अभिन्न अङ्गको रूपमा रहेको हुन्छ । यसर्थ, विद्यालय बिना कुनै पनि समाजको प्रगति सम्भव छैन भने समाज बिना विद्यालयको पनि अस्तित्व रहँदैन । यस अर्थमा हेर्दा विद्यालय एउटा पूर्ण समाजको सानो समाज हो । 

कुनै पनि बालक जन्मदा खेरि नै खराब वा असल हुँदैन । जन्मदा नै उसले केही न केही अन्तर्निहित क्षमता पनि प्राकृतिक रूपमा लिएर आएकै हुन्छ अर्थात् ती क्षमतालाई उसको बाबुआमा, अभिभावक, घरपरिवार, छिमेकी, समुदाय, विद्यालय तथा समाजको वातावरणले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । भिन्न भिन्न समाजमा भिन्न भिन्न किसिमका सामाजिक मूल्य मान्यता, सांस्कृतिक आदर्शहरू पनि स्थापित हुन्छन् । त्यही सामाजिक बनोट, प्रक्रिया, संस्कृति तथा अन्तर्क्रिया आदिका आधारमा नै विद्यालयको पाठ्यक्रम, शिक्षक, विद्यार्थीको स्थान, मूल्याङ्कन प्रक्रिया निर्धारित हुन्छन् । यसर्थ विद्यालय एउटा त्यो सामाजिक स्थल हो, जहाँ प्रत्येक विद्यार्थीले आफ्नो शैक्षिक भविष्य निर्माण गर्दछ । विद्यालय भनेको यसर्थ समाजकै एक महत्वपूर्ण अङ्ग हो । कुशल नेतृत्व, कुनै पनि क्षेत्रका कुशल व्यक्तित्व उपार्जन गर्ने पवित्र स्थल भनेको विद्यालय नै हो ।

समाजमा मर्यादाका साथ जीवनयापन गर्ने योग्यता आचरण र उपयुक्त व्यवहार विद्यालयबाट नै सिकाइने भएकाले प्रत्येक समुदायको विकासमा विद्यालयको महत्वपूर्ण भूमिका रहेको हुन्छ । यसरी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विद्यालय र समुदायको नङ र मासुकै सम्बन्ध हुन्छ । दुवै एकअर्काका परिपूरक हुन् । दुवैको समान सक्रियताबाट नै समुचित विकास सम्भव हुन्छ । 

किन घट्दै छन् विद्यार्थी

अचेल संस्थागत विद्यालयका तुलनामा सामुदायिक विद्यालयका विद्यार्थीको सङ्ख्या दिन प्रतिदिन घट्दै गएको देखिएको छ । विगतमा पनि कतिपय विद्यालय तराई मधेशदेखि पहाडसम्मका अवस्था यस्तै देखिएपछि एक अर्कामा नजिकका विद्यालयलाई गाभेर पनि तत्काल व्यवस्थापन गरिएको थियो । तथापि या हाम्रो समाजको ठुलो विडम्बनाकै रूपमा देखा परेको छ । जबकि सामुदायिक विद्यालयमा सरकारले निःशुल्क 

शिक्षाको व्यवस्था अनि सुविधा गरे पनि यसमा आकर्षण सोचे जस्तो बढेको छैन । 

अमेरिकाका करिब ९० प्रतिशत सामुदायिक विद्यालयका अवस्था प्रगतिशील समुन्नत रहेका छन् भने बाँकी करिब दस प्रतिशतका हाराहारीमा संस्थागत विद्यालयहरू मात्र राम्ररी सञ्चालनमा छन् । यसका पछाडि केवल सरकार होइनन्, त्यहाँका समुदाय तथा विद्यालय व्यवस्थापन समितिका भूमिका सक्षम सफल र सर्वमान्य रहेको छ । विद्यालय प्रशासन तथा समुदायकै सुमधुर सम्बन्ध तथा समन्वय सहकार्यले गर्दा त्यहांँका धेरै विद्यार्थी सामुदायिक विद्यालयमा नै भर्ना गरिन्छ तर हाम्रोमा समग्र तराई मधेशदेखि पहाड हिमालसम्म, गाउँले वातावरणदेखि सहरी वातावरणमा समेत अमेरिकाको ठिक विपरीत अवस्था खास गरी विद्यालय स्तरीय शैक्षिक क्षेत्रमा देखा परेको छ । हुन त यसका पछाडि धेरै कारण छन् तथापि तीमध्ये प्रमुख कारण चाँहि विद्यालय समुदाय सम्बन्ध नै रहेको छ ।

समग्रमा भन्दा विद्यालय समुदाय सम्बन्धले यस क्षेत्रमा महìवपूर्ण भूमिका खेलेको छ भन्ने देखिन्छ तर हामी र हाम्रा समुदाय अमेरिका जस्तो सभ्य तथा विकसित नभएकाले विद्यालय र समुदायको सम्बन्ध सुमधुर नभएर यस्तो विपरीत परिस्थितिको सामना हामीले गर्नु परेको छ । हामी र हाम्रो समुदायमा बढीभन्दा बढी अभिभावक वर्ग नै सङ्कीर्णता तथा सङ्कुचित सोचबाट ग्रसित रहेकोले हाम्रो समुदाय र विद्यालयका सम्बन्ध कहिले पनि सुमधुर हुन सकेको छैन । यसका पछाडि विद्यालय र समुदाय दुवै कमजोरी देखिन्छ । विद्यालयले आफ्ना चमत्कारी शैक्षिक वातावरणबाट गुणात्मक परिणाम ल्याई समुदायलाई विशेष कार्यक्रममा सक्रिय सहभागिताका साथ आकर्षण गर्न सक्नु पर्छ । समुदायले पनि अनावश्यक राजनीतीकरण नगरी आफ्नै मान्छे सरुवा बढुवा गरी भर्ना गर्ने काम बन्द गरी निष्पक्ष र स्वतन्त्र रूपमा सक्षम जनशक्तिको मात्र भर्ना गर्नु पर्छ । जबसम्म सामुदायिक विद्यालयमाथि समुदायको हस्तक्षेप पूर्ण रूपमा बन्द हुँदैनन्, तबसम्म यसमा विद्यार्थीको आकर्षण बढाउन कठिन हुने छ ।  

Author

उदयकुमार यादव