• १८ जेठ २०८२, आइतबार

‘द्वन्द्वपीडितलाई न्याय दिलाउन मिडियाको भूमिका महत्त्वपूर्ण’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ १७ गते । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गडतौलाले सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन र द्वन्द्वपीडितलाई न्याय दिलाउन मिडियाको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ । 

तेस्रो पटक पुनर्गठित भई अहिले पूर्णता पाएको यस आयोगका गतिविधिबारे शुक्रबार सञ्चारकर्मीसँगको अन्तर्क्रियामा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “हाम्रो प्रतिबद्धता नै द्वन्द्वपीडितलाई न्याय दिनु पर्छ भन्ने हो । परिपूरणसहितको न्याय पाएको अनुभूति उसले गर्न पाउनुपर्छ । यस कार्यका लागि मिडियाले सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ । हामी मिडियासँग सहकार्य गर्न तयार छौँ ।”

मिडियाले समाचार दिनेमात्र होइन, जनमत पनि सिर्जना गर्नु पर्छ भन्दै अध्यक्ष गर्तौलाले द्वन्द्वपीडितको संवेदनशीलता र मानवीय पक्षलाई ध्यानमा राखेर आयोगले यो काम सबैको सहयोग र सहकार्यमा छिटो सम्पन्न गर्न चाहेको स्पष्ट गर्नुभयो ।

आयोगमा द्वन्द्वपीडितका उजुरी आउनेक्रम जारी रहेको र आउँदो तीन महिनासम्म आयोगमा उजुरी दिन सक्ने व्यवस्था गरिएको बताउँदै उहाँले त्यसलाई सहजीकरण गर्न सबै पक्षसँग आग्रह गरिएको स्पष्ट पार्नुभयो । उहाँले अगामी चार वर्षभित्र आयोगले सबै काम सक्ने बताउँदै अब अर्को आयोग बनाउनुपर्ने अवस्था नआओस्, सबै मिलेर यो काम सम्पन्न गर्न सहयोगका लागि आग्रह गर्नुभयो ।