सर्वप्रथम १८ औँ गणतन्त्र दिवसको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा बधाई तथा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु ।
आजको दिन हाम्रा लागि विशेष छ । यो दिन एक साधारण दिन मात्र हैन, यो हाम्रा लागि एक ऐतिहासिक दिन हो । नेपाली जनताको सङ्घर्ष, त्याग र बलिदानबाट आजभन्दा ठिक १८ वर्ष अगाडि २०६५ जेठ १५ गते हामीले नागरिक सर्वाेच्चतासहितको लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका थियौँ । यो ऐतिहासिक दिनमा म गौरवमय परिवर्तनका लागि जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै लोकतन्त्रसहित न्याय, स्वतन्त्रता र परिवर्तनका लागि जेल, नेल र यातना सहने श्रद्धेय नेताहरूप्रति सम्मान व्यक्त गर्दै विभिन्न आन्दोलनका सारथि नागरिक समाज र राजनीतिक दलका कार्यकर्ताहरूको उच्च प्रशंसा गर्दछु ।
हामी सबैलाई थाहा छ, लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनीतिक व्यवस्था हो । यसलाई हामीले सङ्घीयता, समावेशिता, सामाजिक न्याय र लोकतान्त्रिक मूल्यसहितको समाजवादको सारगर्भित मान्यताहरूले सिञ्चित गरेर थप सर्वाेत्कृष्ट बनाएका छौँ । अतः संसारमै योभन्दा उन्नत अर्काे कुनै व्यवस्था छैन । यस कारण पनि यो व्यवस्थाले नागरिकलाई सार्वभौम बनाएको छ । राज्यसत्ता र शक्तिको स्रोत पूर्णतः नागरिकलाई मानेको छ । हाम्रो संविधानले नागरिक सर्वाेच्चतालाई महान् उपलब्धिका रूपमा अभिलेखन गरेको छ र हामी त्यसैको अभ्यासमा जुटेका छौँ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित गरेको छ । यसले हामीलाई समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर दिएको छ । यसले देशवासीलाई जोडेको छ र एक साझा राष्ट्र बनाउने सङ्कल्पका लागि अभिप्रेरित गरेको छ । किनभने यसले हामीलाई आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमिको स्वामित्व दिएको छ । त्यसैले यो हाम्रा लागि राष्ट्र निर्माणको एक महान् प्रेरणा र अभिभारा हो ।
परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न राजनीतिक उपलब्धिहरू मात्र पर्याप्त हुँदैन । राजनीतिक उपलब्धिलाई नागरिकको जीवनसँग जोड्नका लागि हाम्रो राज्यको चरित्रलाई बदल्नुपर्ने हुन्छ । हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने हुन्छ । हामीले राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नुपर्ने हुन्छ । गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष, प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न भन्ने म ठान्दछु ।
अब हामीले विचार गर्ने यही हो कि हामीले प्राप्त गणतन्त्रलाई सबल बनाउन सम्पूर्ण त्याग र विनयशीलताका साथ प्रयत्न गर्नु पर्दछ । हामीले प्राप्त राजनीतिक अधिकारको जगमा सामाजिक न्यायसहितको आर्थिक र सामाजिक समृद्धि सुनिश्चित गर्नु पर्दछ । हाम्रा राजनीतिक दल, हाम्रो सरकार, हाम्रो नेतृत्व सिर्जनशील र जनउत्तरदायी हुनै पर्दछ । शासकीय संरचना र राज्यका अङ्गहरूलाई गतिशील र परिणाममुखी बनाउनै पर्दछ । हामीले सुशासनको प्रत्याभूति दिनै पर्दछ ।
जगजाहेर छ, आज गणतन्त्रको सबैभन्दा ठुलो शत्रु अरू कोही होइन– ढिलासुस्ती, अनियमितता र बेथिति हुन् । यिनै बेथितिले लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकलाई निराश नबनाओस् भन्ने हाम्रो चिन्ता हुनु पर्दछ । जबसम्म हाम्रा प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्ने छैन, त्यो बेलासम्म हामीले रगत र पसिनासँग साटेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा हुँदैन ।
आज नागरिकले सुशासनसहितको समृद्धि खोजेका छन्, रोजगारी खोजेका छन्, न्यायोचित वितरण खोजेका छन् र सामाजिक न्यायको प्रबन्ध खोजेका छन् तर आर्थिक विकासबिना यी केही पनि सम्भव छैन । त्यसैले हाम्रा स्रोतहरूको उच्चतम् प्रयोग गर्न आवश्यक छ । अनि मात्र हामी हाम्रो कृषि, पर्यटन, ऊर्जालगायत औद्योगिक र सेवा क्षेत्रलाई बलियो बनाउन सक्छौँ । अनि मात्र आर्थिक विकास र समृद्धि प्राप्त हुन्छ । अनि मात्र गणतन्त्रलाई हामी नागरिकको जीवनसँग जोड्न सक्छौँ । अनि मात्र नयाँ आशाहरू निर्माण हुन सक्छन् । अनि मात्र हाम्रो गणतन्त्र सफल, सबल र परिणाममुखी हुँदै जान्छ । यो नै आजका लागि हाम्रो ऐतिहासिक अभिभारा हो ।
यस अर्थमा आजको दिनले हामीलाई आफ्नो ऐतिहासिक दायित्व सम्झाएको छ । म आशा गर्छु, हामी यो दायित्व बिर्सने छैनौँ । म आशा गर्छु, गणतन्त्रको मर्यादा बचाउन र यसलाई अझ समृद्ध बनाउन हामी सबै एकताबद्ध भएर लाग्ने छौँ । गणतन्त्र केवल एक व्यवस्था हैन । यो त आचरणशील राजनीतिक, आर्थिक र सामाजिक जीवन पद्धति पनि हो । यसका आफ्नै मूल्यमान्यता र नैतिक दायराहरू हुन्छन् । त्यसलाई बिर्सिएर हामीले इतिहासको अभिभारा पूरा गर्न सक्दैनौँ । आजको दिनले हामीलाई सामाजिक न्याय, विकास र समृद्धिसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उच्चतम र सार्थक अभ्यासमा अगाडि बढ्ने थप प्रेरणा दिने छ । सबैलाई सुखद भविष्यको शुभकामनासहित ।