गोरखापत्र अनलाइन
बेल्जियम, जेठ १६ गते । किरात समुदायको मौलिक चाड उभौली साकेला ५०८५ बेल्जियममा मनाइएको छ । किरात राई सोसाइटी बेल्जियमको आयोजनामा बेल्जियमको ऐतिहासिक सहर लुभेनमा भव्य रूपमा साकेला सम्पन्न भएको हो।
कार्यक्रममा युरोपका विभिन्न देशहरूबाट आएका नेपाली समुदायका अगुवा, विभिन्न जातीय संघ संस्थाका प्रतिनिधि तथा स्थानीय बेल्जियम सरकारका विशिष्ट पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रमका प्रमुख अतिथि सेवा लम्साल, युरोपियन युनियनका लागि नेपाली राजदूतले विदेशमा रहेका नेपालीले आफ्नो संस्कृति जगेर्ना गर्न गरेको प्रयास प्रशंसनीय रहेको बताउनुभयो । “यस्ता मौलिक पर्वहरू प्रवासमा नेपालीहरूको पहिचान जोगाउने मेरुदण्ड हुन् । साकेलाले प्रकृति र समुदायसँगको सहजीविताको सन्देश दिन्छ” उहाँहरुको भनाइ थियो ।
कार्यक्रममा लुभेन नगर उपप्रमुख बेल्जियमकी लोथे रामाकरले नेपाली समुदायको सांस्कृतिक बहुलता देखेर खुसी व्यक्त गर्नुभयो । स्टाड लुभेनका उपमेयर श्री दिर्क भेन्सिनाले पनि कार्यक्रमको प्रसंशा गर्नुभयो ।
त्यसैगरी, लुभेन नगरपालिकाका उपमेयर श्री दिर्क भेन्सिनाले नेपाल र बेल्जियमबीचको सांस्कृतिक सम्बन्धको सराहना गर्नुभयो । कार्यक्रममा आदिबासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष बिरमान मगरसहित युरोपभरिबाट आएका किरात तथा अन्य नेपाली संघ संस्थाका अगुवाहरूले आ–आफ्ना मन्तव्य राख्दै साकेला चाडको महत्त्वबारे प्रकाश पार्नुभयो ।
मेजर योगेश कोयी राई, किरात राई यायोक्खा बेलायतका निवर्तमान अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्षले साकेला हाम्रो आत्मा हो। यो पर्व मनाउनु भनेको हाम्रा पुर्खा र प्रकृतिलाई सम्झनु हो भन्नुभयो ।
किरात राई यायोक्खा बेलायतका अध्यक्ष श्री आशा राईले प्रवासमा साकेला मनाउँदा बालबालिकाले पनि आफ्नो जरा र पहिचान बिर्संदैनन् भन्नुभयो । किरात राई सोसाइटी पोर्चुगलका कोषाध्यक्ष अरुन राईले यस्ता आयोजनाले हाम्रो साझा संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर मिलेको बताउनुभयो ।
इन्दिरा राईको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन महासचिब सबनम राईले गर्नुभएको थियो । कार्यक्रमको ब्यबस्थापन देब, सरु, मालती, रेणुका, मुना, मोनी, तारा गोपाल भबिन सुबास राई लगायतले गर्नुभएको आयोजकले जनाएको छ ।