साहारा लिम्बू
फुङ्लिङ, जेठ १६ गते । मिक्वाखोला गाउँपालिका वडा १ का ११ जना महिलालाई झोला बनाउने तालिम दिइएको छ । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङ र मिक्वाखोला एक खोक्लिङको समन्वयमा गत वैशाख १४ गतेदेखि एक महिने तालिम प्रदान गरिएको हो ।
तालिम बिहीबार सम्पन्न भएको छ । अघिल्लो आर्थिक वर्षमा आधारभुत तालिम प्रदान गरिएका वडाका ११ जना महिलालाई नै यो आर्थिक वर्षमा एडभान्स तालिम प्रदान गरिएको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख लक्ष्मी सुहाङले बताउनुभयो । स्थानीयको मागको आधारमा तालिम प्रदान गरिएकोले तालिम प्रभावकारी भएको प्रमुख सुहाङको भनाइ छ ।
समापन कार्यक्रममा बोल्नुहुँदै गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले स्थानीय स्तरमा पाइने अल्लोको कपडाबाट विभिन्न सामग्री बनाउने मात्र नभई अल्लोबाट धागो बनाउने तालिम पनि आवश्यक रहेकोले यसतर्फ गाउँपालिकाले पनि ध्यान दिने बताउनुभयो । साथै उहाँले स्थानीयले उत्पादन गरेको सामग्रीलाई बजारीकरण गर्न गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता गर्नुभयो ।
त्यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष डण्डु लामाले तालिम लिने महिलाहरूलाई उद्योग दर्ता गरेर अघि बढ्न आग्रह गर्नुभयो । तालिम घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङ महिला समिति अध्यक्ष तथा व्यवसायी विष्णु श्रेष्ठले दिनुभएको थियो ।
आफ्नै गाउँमा सीप सिक्न पाउँदा खुसी व्यक्त गर्दै छिट्टै उद्योग दर्ता गरेर सञ्चालन गर्ने सहभागि गंगा कार्कीले बताउनुभयो । स्थानीय स्तरमा पाइने भाङ्ग्रे सिस्नु (अल्लो) बाट धागो बनाएर कपडा बनाइन्छ त्यसपछि झोला, कोट, पर्स, साइड ब्याग लगायत विभिन्न डिजाइनका सामग्री तयार गर्ने गरिन्छ ।