• १५ मंसिर २०८१, शनिबार

अक्सिजनमा आत्मनिर्भर बन्दै इलाम अस्पताल

blog

इलाम अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्ट । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, असोज २६ गते । इलाममा रहेको एकमात्र सरकारी इलाम अस्पताल अहिले आफ्नै अक्सिजन प्लान्टमा आत्मनिर्भर बन्न थालेको छ । 

कोभिड–१९ को सङ्क्रमणका कारण अक्सिजन अभाव भएपछि कोशी प्रदेश सरकारको सहयोगमा एक वर्षअघि स्थापना गरिएको अक्सिजन प्लान्टले अस्पतालसहित बाहिरको आवश्यकता पनि पूरा गर्न थालेको अस्पतालले जनाएको  छ । 

प्लान्टमा एक हजार लिटरको ट्याङ्की जडान गरिएको छ । अहिले दैनिकजसो आवश्यकताअनुसार अक्सिजन उत्पादन भइरहेको अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले बताउनुभयो । ‘अस्पतालको इमरजेन्सीमा दैनिक अक्सिजन आवश्यक पर्छ, हामीले सिलिन्डर र बेडसम्म जडान गरिएका पाइपबाट अक्सिजन प्रयोग गरिरहेका छौं ।’ 

खतिवडाले भन्नुभयो, ‘अस्पतालभन्दा बाहिरबाट पनि सिलिन्टरहरु आएमा भरेर दिनेगरेका छौं ।’ अस्पतालले अस्पतालमै आएका बिरामीलाई निःशुल्क अक्सिजन उपलब्ध गराउने गरेको छ । 

यस्तै, एम्बुलेन्समा रहेका सिलिन्डरमा पनि अक्सिजन उपलब्ध गराउनेगरेको खतिवडाले बताउनुभयो । बाहिरबाट आएका सिलिन्डरमा भने शुल्क लिएर भर्ने गरेको जनाइएको छ । ‘पहिला झापाबाटै अक्सिजन भरेर ल्याउनुपर्ने बाध्यता थियो । 

अस्पतलामै प्लान्ट सुरु भएपछि अस्पताल र विरामी दुईलाई सहज भएको छ, व्यवस्थापक खतिवडाले भन्नुभयो । प्रदेश सरकारको एक करोड २७ लाख रुपियाँको लागतमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको जनाइएको छ ।