• २४ वैशाख २०८१, सोमबार

शान्ति प्रक्रियाबारे नकारात्मक प्रवृत्ति देखा पर्‍यो : प्रधानमन्त्री प्रचण्ड

blog

काठमाडौं, असोज २५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौताका सहयात्रीमा नै जनयुद्धको सन्दर्भ र शान्ति प्रक्रिया टुंग्याउने विषयमा नकारात्मक प्रवृत्ति देखा परेको बताउनु भएको छ ।

 द्वन्द्व पीडित परिवारका आफन्त तथा परिवारहरूले ‘संक्रमणकालीन न्यायप्रक्रियामा पीडित केन्द्रित दृष्टिकोण र समाधानको बाटो’ विषयक राष्ट्रिय परामर्श भेला गरी निकालेको निष्कर्ष पत्र बुझ्दै प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो । 

केही मान्छे द्वन्द्वका कारण केही सीमित  व्यक्ति मात्रै पीडित भएका हुन्  जसरी प्रचारमा लाग्ने गरेको र विश्व समुदायलाई भ्रममा पार्न सकिन्छ कि भनेर  प्रसाय गरी राखेको प्रधानमन्त्रीले बताउनुभयो । तर आफ्नो प्रयासले हजारौं हजार नागरिक, आम रूपमा न्याय भयो कि भएन भन्ने विश्व समुदायको ध्यान आकर्षित गरेको उहाँले बताउनुभयो ।

संक्रमणकालीन न्यायप्रक्रियामा पीडित केन्द्रित दृष्टिकोण र समाधानको बाटो विषयक छलफल राखेर सहिद बेपत्ता योद्धा यतना पीडित र पीडित सदस्यहरूले लिएको पहलप्रति प्रधानमन्त्री प्रचण्डले धन्यवाद व्यक्त गर्नुभयो । 

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘शान्ति प्रक्रिया टुंग्याउने विषयलाई  पेचिलो बनाउने प्रयास भई राखेको छ । शान्ति प्रक्रियालाई टुङ्गोमा पुराउन निकै सकस पैदा गर्ने कोशिस भइराखेको छ । पछिल्लो समय सदनका बहस हेर्नु भएकै छ, शान्ति सम्झौताका सहयात्री नै जनयुद्धको सन्दर्भ र शान्ति प्रक्रिया टुंग्याउने विषयमा नकारात्मक प्रवृत्ति देखा परेको छ ।’’

विभिन्न चुनौतिका बीच आफूले माओवादी जनयुद्धमा संलग्न र द्वन्द्वबाट पीडित बनेका सबैका समस्या समाधन र उनीहरूका पीडा पक्षविपक्ष नभनेर समाधान प्रयास गरिराखेको बताउनुभयो । उहाँले द्वन्द्व पीडित प्रहरीका परिवारलाई पनि आफूले भेटेको जानकारी दिनुभयो । 

पछिल्लो समय आफू  संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदा वातावरण परिर्वतनका कारणले नेपालले भोगिरहेको समस्या र नेपालको शान्ति प्रक्रियाबारे विश्वको ध्यान जाने गरी महासभामा विषयको उठाउन गरेको प्रधानमन्त्रीले बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘‘मैले नेपालको शान्ति प्रक्रिया  मौलिक भएको र यसबाट विश्वले सिक्न सक्ने बताउदै सम्बोधन  गर्दा अन्तर्राष्ट्रिय रूपमा नै तरगित भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा नेपालको शान्ति प्रक्रियालाई गम्भीर रुपले बलियोसँग राखिएको छ । यसले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण मात्रै गरेको छैन । पूरै बधाई र धन्यवाद दिनेको ताती नै लागेको थियो ।’’

आफूले महासभामा नेपालको संक्रमणकालीन न्याय प्रक्रिया टुंगो लगाउँदा  त्यसले अन्तर्राष्ट्रिय जगतमा एउटा नयाँ उदाहरण प्रस्तुत गर्ने भएकाले सबैले नेपालको शान्ति प्रक्रिया टुंग्गोमा पुराउन मद्दत गर्नुपर्ने धारणा राखेको बताउनुभयो । 

प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा आफूले महासचिव एन्टोनियो गुटरेसलाई नेपालले जलवायु परिर्वतनका कारण भोगेको समस्या र नेपालको शान्ति प्रक्रियाका साथै पीडितहरूको कुरा सुन्न नेपाल भ्रमणको निमन्त्रणा दिएको सुनाउनु भयो । इजरायलमा भएको द्वन्द्वका कारणले उहाँ अक्टोवर १३ को सट्टा २९ तारिकको दिन नेपाल आउने जानकारी समेत दिनुभयो । 

महासचिव गटरेससँग नेपालको शान्ति प्रक्रिया र चुनौती बारेमा छलफल गरेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले उहाँको नेपाल भ्रमणले न्याय प्रक्रिया टुंगो लगाउन, नेपालको शान्ति प्रक्रिया नजिकबाट हेर्न, नेपालले भोगिराखेको वातावरणीय समस्या र यसको  प्रभावबारे बुझ्न मदत गर्ने बताउँनुभयो । महासचिव आएपछि नेपालको शान्ति प्रक्रिया टुंगोमा पुराउन र नेपालले भोगेको वातावरणीय प्रभावबारे सकारात्मक वातावरण बन्ने बताउनुभयो ।

महासचिव नेपाल भ्रमणमा आउँदा  आफूले पीडितहरूले आफ्नो विषय राख्ने र पीडितहरूका अनुभव र पीडाका विषय महासचिवसमक्ष नै  सुनाउने वातावरण बनाउने तर्फ सोचिराखेको समेत जानकारी दिनुभयो । 

सो क्रममा प्रधानमन्त्री प्रचण्डले अहिले टिआरसी सम्बन्धि विधेयक संसद हुँदै समिति हुँदै उपसमितिमा गएको जानकारी दिनुभयो । साथै शान्ति प्रक्रियालाई राजनीतिक लेवलमा यसअघि भएका सहमति अनुसार टुंगोमा पुराउन निरन्तर छलफल गरेको छ, प्रधानमन्त्रीले भन्नुभयो । 

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘शान्ति प्रक्रियालाई राजनीतिक लेवलमा यसअघि भएका सहमति अनुसार टुंगोमा पुराउन निरन्तर छलफल  गरिराखेको छु । राजनीति दलहरुसँग टिआरसी विधेयकमा सहमति जुटाएर एकमत कायम गर्न शान्ति  प्रक्रियाका सबै दल र अरूलाई पनि समेटेर लैजाने प्रयास गरिरहेको छु  । टिआरसी टुंगोमा पुराउन प्रतिपक्षी दललाई समितिका ३ वटा सभापति दिइएको छ । तर शान्ति प्रक्रिया टुंगोमा पुराउन माओवादी र सरकार जस्तो इमान्दार  प्रतिपक्ष दल भइराखेको छैन ।’’ 

शान्ति प्रक्रिया टुँगोमा पुराउने र जनयुद्धलाई स्थापित गर्ने कुरामा  आफु दृडतापूर्वक लागेको बताउनुहुँदै प्रधानमन्त्री प्रचण्डले यसमा सबैको साथ सहयोग आवश्यक छ भन्नुभयो ।