• २४ वैशाख २०८१, सोमबार

अल नेपाल अन्तर वडा टेबल टेनिस हुने

blog

गोरखापत्र समाचारदाता

काठमाडौं, असोज २५ गते । स्पिन इभेन्ट्सको आयोजनामा अल नेपाल अन्तर वडा टेबल टेनिस प्रतियोगिता हुनेभएको छ । अखिल नेपाल टेबल टेनिस सङ्घको वार्षिक कार्यक्रममा रहेको यस प्रतियोगिता कात्तिक १ देखि ४ गतेसम्म सातदोबाटोस्थित कराते हलमा हुनेछ ।

यसको प्रमुख प्रायोजकमा सुमन खड्गी हुनुहुन्छ । स्पिन इभेन्ट्सका अध्यक्ष सुमन शाक्य र प्रायोजक खड्गीले बिहीबार एक कार्यक्रमबिच सम्झौतापत्र आदानप्रदान गर्नुभयो । प्रायोजक खड्गीले व्यक्तिगतरुपमा १० लाख रुपियाँ यस प्रतियोगितालाई प्रायोजन गर्नुभएको हो । उहाँले नेपालमा धेरै प्रतियोगिता नहुँदा हाम्रा खेलाडीहरू माथि आउन नसकेको भन्नुहुँदै बढीसेबढी प्रतियोगिता होस् भन्ने आफ्नो भावनाअनुरूप यस प्रतियोगितालाई सहयोग गरेको बताउनुभयो । 

१५ लाख रुपियाँ अनुमानित लागत रहेको यस प्रतियोगितालाई गोदावरी नगरपालिका, जिल्ला खेलकुद विकास समिति ललितपुरले प्रायोजकको रूपमा साथ दिएका छन् । प्रतियोगितामा महिला–पुरुष एकल, गल्र्स–ब्वाइज एकल यु १६, महिला–पुरुष टिम्स, महिला–पुरुष भेट्रान (४० वर्ष माथि), पुरुष एकल (५० वर्ष माथि) र पुरुष एकल (६० माथि) विधा समावेश छन् । प्रतियोगिता ३२० खेलाडीले भाग लिने बताइएको छ ।

टिम इभेन्ट्सका शीर्ष विजेता, उपविजेता र सेमिफाइनलमा पराजित हुनेलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी महिला पुरुष एकलतर्फका विजेता, उपविजेता र सेमिफाइनलमा पराजित हुनेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । अन्य विधाका विजेता, उपविजेता र सेमिफाइनलमा पराजित हुनेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय प्राप्त गर्नेछन् । पदकको आधारमा शीर्ष स्थानमा रहने वडालाई रनिङ शिल्ड प्रदान गरिनेछ ।