गोरखापत्र अनलाइन
काठमाडौं, असोज २५ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले हवाई भाडालाई नियन्त्रण गर्न नेपाल वायुसेवा निगमले जहाज थप गर्नुपर्ने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किरातीले सो कुरा बताउनुभएको हो ।
अनियन्त्रित भाडा वृद्धिलाई नियन्त्रण गर्नका लागि नेपाल वायुसेवा निगमले जहाज खरिद गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले नियमभन्दा बाहिर गएर हवाई भाडा वृद्धि गर्न कसैलाई छुट नभएको बताउनुभयो । उहाँले निजी कम्पनीहरूलाई सरकारले बढी नियन्त्रण गर्न पनि नसक्ने भन्दै उहाँले निजी कम्पनीहरू ऐन, कानुनभन्दा बाहिर जान नपाउने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नियमभन्दा बाहिर जान कसैलाई पनि छुट छैन । बजारमा भएको अनियन्त्रित भाडालाई नियन्त्रण गर्न नै, हस्तक्षेप गर्नका लागि नै नेपाल वायु सेवा निगममा जहाज चाहिन्छ । त्यही कारणले जहाज किन्ने प्रक्रियामा हामी प्रवेश गरिसकेका छौँ, त्योभन्दा अन्यथा हुँदैन । निजी कम्पनिलाई हामीले बढी नियन्त्रण गर्दा पनि फेरि निजी कम्पनीमैत्री हामी हुन सक्दैनौँ ।’
उनीहरू पनि ऐन, कानुनभन्दा बाहिर जान नपाउने मन्त्री किरातीले बताउनुभयो । मनपरी भाडा उठाउन कसैलाई छुट नभएको उहाँको भनाइ छ । ‘स्वेच्छाचारी हुन कसैलाई छुट छैन । कानुनभन्दा बाहिर गएमा कारबाही हुन्छ । ऐन, कानुनभन्दा बाहिर छ भने म आजै एक्सन लिन्छु ।’ कानुनभन्दा बाहिर गएर हवाई भाडा वृद्धि गरेमा कारबाही गरिने उहाँले चेतावनी दिनुभयो ।