काठमाडौँ, असोज २५ गते । सहरी विकासमन्त्री सीता गुरुङले नेपाली समाजमा भ्रूणदेखि बालिकामाथि हिंसा हुने गरेको बताउनुभएको छ । राष्ट्रिय महिला आयोगले बिहीबार काठमाडौँमा आयोजना गरेको “बालिका तथा किशोरीमाथि हुने अवहेलना, दुर्व्यवहार र हिंसाको सवाल” अन्तरक्रिया कार्यक्रममा उहाँले बालिकाले भोग्दै आएका विभेदको प्रतिकारका लागि थुप्रै कोणबाट काम गर्नुपर्ने बताउनुभएको हो ।
मन्त्री गुरुङले ‘छोरी जन्मिए फर्सी, छोरा जन्मिए खसी’ भन्ने पहिले देखिको कथनमा अहिले पनि फरक आउन नसक्नु दुः खद रहेको उल्लेख गर्नुभयो । उहाँले सामाजिक रूपान्तरणका लागि विभिन्न स्तरमा धेरै आन्दोलन भए पनि भ्रूणदेखि बालिकामाथि हिंसा हुने गरेको उल्लेख गर्नुभयो ।
राष्ट्रिय महिला आयोगले अध्यक्ष कमलाकुमारी पराजुलीले आयोगमा महिला हिंसाविरुद्ध आउने थुप्रै उजुरी तथा गुनासोमा किशोरी बढी पीडित हुने गरेको पाइएको जानकारी दिनुभयो ।
आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडाले लिङ्ग छनौट गरी छोरी भए गर्भपतन गर्ने प्रवृत्तिले समाजमा छोरा र छोरीको जनसङ्ख्यामा समेत असमानता आएको बताउनुभयो । उहाँले छोरीले जन्मनै नपाउने, जन्मिहाले पनि बलात्कृत हुनुपर्ने, शिक्षा, स्वास्थ्यलगायत हरेक क्रियाकलापमा विभेदको सामना गर्नुपर्ने अवस्थाको अन्त्यका लागि आयोगले आवाज उठाउँदै आएको उल्लेख गर्नुभयो ।
बाल अधिकारकर्मी सुम्निमा तुलाधरले अधिकारवादी सोचसहित बालबालिकामा लगानी बढाउनुपर्ने बताउनुभयो । उहाँले बालबालिकामा सेवा भावको लगानीले मात्र परिवर्तन नआउने उल्लेख गर्नुभयो । जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तमा पौडेलले बालिका तथा किशोरीमाथि हुने हिंसा, दुर्व्यवहार अन्त्य गर्न बालबालिकामा लगानी बढाउँदै बाल/युवा पोषणमैत्री अभियानसँग जोड्नुपर्ने बताउनुभयो ।