प्रनिश गिरी
कुश्मा पर्वत, असोज २५ गते । कुश्मा नगरपालिकाले नागरिक समाजको व्यापक दबाबपछि तीन महिना ढिलागरी असोज १० गते नगर सभा सम्पन्न गरी कार्यक्रम र बजेट प्रस्तुत गरेको थियो । कुश्मा नगरपालिकाले अहिलेसम्म आफ्नो आयव्ययबारे सार्वजनिक सुनुवाइ कार्यक्रम गरी नागरिकप्रति जबाफदेही नबनेको स्थानीयको आरोप छ ।
स्थानीय सरकार ऐन, २०७४ मा स्पष्ट गाउँपालिका तथा नगरपालिकाले सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी र जबाफदेही बनाउन सार्वजनिक परीक्षण, सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाइजस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने छ भनी उल्लेख छ ।
चौमासिक रूपमा प्रगति विवरणसहित आयव्यय सार्वजनिक गर्नुपर्ने नगरपालिकाले वर्षौँदेखि नगरपालिकास्तरीय सार्वजनिक सुनुवाइ अहिलेसम्म गरेको छैन । कुश्मा नगरपालिका कार्यालयका लेखापाल धनपति पौडेलले भन्नुभयो, “म कुश्मा नगरपालिकामा कार्यरत रहेको २०७६ सालदेखि यता र पहिले पनि नगरवासी माझ सार्वजनिक सुनुवाइ कार्यक्रम भएको थाहा छैन । पहिले भएको भए बुझ्नुपर्ने हुन्छ ।”
सार्वजनिक सुनुवाइ हुन नसक्दा नगरवासी कुश्मा नगरपालिकाको आयव्यय साथै प्रगति विवरणबारे बेखवर छन् । कुश्मा नगरपालिकामा लामो समयदेखि शिक्षा शाखाको प्रमुखको जिम्मेवारीमा कार्यरत रही अहिले प्रशासकीय अधिकृत रहनुभएका विष्णु तिवारीले जनताको गुनासो सुन्ने र सम्बोधन गर्ने साथै स्थानीय सरकारले सुशासन स्थापना गर्न पनि सार्वजनिक सुनुवाइ गर्नुपर्ने बताउनुभयो ।
प्रशासकीय अधिकृत तिवारीले भन्नुभयो, “नगरपालिकामा भएगरेका गतिविधिबारे नगरवासीलाई प्रत्यक्ष जानकारी गराउन अब छिट्टै आगामी कात्तिक महिनाभित्र सार्वजनिक सुनुवाइ गरिनेछ ।” नागरिक समाजले सुशासनका लागि नागरिक सुनुवाइको माग गरेको भए पनि नगरपालिकाले बेवास्ता गर्दैआएको छ ।
गाउँपालिका तथा नगरपालिकाको आर्थिक कार्य प्रणालीअनुसार गाउँपालिका, नगरपालिका तथा वडा कार्यालयले आफ्नो आयव्ययको विवरण प्रत्येक महिनाको ७ गतेभित्र सार्वजनिक गर्नुपर्ने हुन्छ । कुश्मा नगरपालिकाको हकमा सार्वजनिक गरेको नपाइएको नगरवासीको गुनासो छ ।
कुश्मा नगरपालिकामा रहेका १४ वटा वडाले समेत आयव्यय सार्वजनिक सुनुवाइमार्फत प्रस्तुत गर्न रुचि देखाएको पाइँदैन । कुश्मा नगरपालिकाका सूचना अधिकारी ध्रुवराज पौडेलले सार्वजनिक सुनुवाइ सम्बन्धमा भन्नुभयो, “नगरपालिकाको वडा ७ ले दुई वर्ष पहिले सार्वजनिक सुनुवाइ गरेको थियो भने नगरपालिका र बाँकी वडाले गरेको थाहा पाइएको छैन ।”
नगरपालिका वडा १३ का अध्यक्ष तेजप्रसाद शर्माले दसैँअघि नै वडास्तरीय सार्वजनिक सुनुवाइ गरिने उल्लेख गर्दै भन्नुभयो, “हामीले गत आर्थिक वर्षको आम्दानी र खर्च साथै आगामी आर्थिक वर्षको बजेट, योजना र कार्यक्रमबारे वडावासीलाई पहिलो पटक सार्वजनिक सुनुवाइ कार्यक्रम मार्फत जानकारी गराउने तयारी गरेका छौँ ।”