• २१ वैशाख २०८१, शुक्रबार

पूर्व प्रधानमन्त्री नेपालद्वारा अस्पताल निरीक्षण

blog

पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको निरीक्षणको क्रममा । तस्विर : गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, असोज २५ गते । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अनुगमन गर्नुभएको छ । सो क्रममा उहाँले अस्पताल निर्माणमा स्थानीयको सक्रियतालाई प्रोत्साहन गर्न सरकारले आर्थिक सहयोग गरेको बताउनुभयो ।  

डेढ दशकअघि अध्यक्ष नेपाल प्रधानमन्त्री भएको समयमा क्यान्सर अस्पताल निर्माणका लागि प्रखर परोपकार मिसन नेपाल नामक संस्थालाई पहिलो पटक पाँच करोड रुपियाँ आर्थिक सहयोग गरिएको उहाँको भनाइ छ ।  

पूर्व प्रधानमन्त्री नेपालले खजुरास्थित क्यान्सर अस्पतालको स्थलगत निरीक्षणका क्रममा सरकारको सहयोगबाट अस्पताल निर्माण भई सञ्चालन समेत भएकोमा खुसी लागेको बताउनुभयो । पार्टीले सञ्चालन गरेको मेची–महाकाली अभियानका क्रममा नेपाल अस्पताल निरीक्षणमा पुग्नुभएको हो । 

अध्यक्ष नेपालले भन्नुभयो, ‘हिजो अस्पताल निर्माणका लागि पनि सरकारबाट सहयोग भएको छ, अब सञ्चालनका लागि समेत केही कठिनाइ भएमा कुरा राखौँला ।’ सो अवसरमा अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले अस्पताल दरबन्दीबिना करार चिकित्सक र स्वास्थ्यकर्मीको भरमा सञ्चालन भइरहेको भन्दै दरबन्दीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पहल गरिदिन आग्रह गर्नुभयो । 

अस्पतालले कम्तीमा ४०९ चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारी आवश्यक पर्ने भन्दै आन्तरिक सङ्गठनात्मक तथा व्यवस्थापन (ओएनएम) सर्भे स्वीकृतिका लागि मन्त्रालयमा पठाएको लामो समय बिते पनि हालसम्म स्वीकृत नभएको भन्दै अध्यक्ष मल्लले गठबन्धनको नेताको रूपमा पहल गरिदिन नेता नेपालसमक्ष अनुरोध गर्नुभयो । अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट उपचारका लागि बिरामीहरू आउनेगरेका छन् ।