• २३ वैशाख २०८१, आइतबार

अध्यक्षकप फुटबल प्रतियोगिता सुरु

blog

गुणबहादुर रोका
सुलीकोट, असोज २५ गते ।
 गोरखाको गण्डकी गाउँपालिकामा बुधबारदेखि प्रथम गाउँपालिका अध्यक्षकप फुटबल प्रतियोगिता ‘२०८०’ सुरु भएको छ । गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सुरु भएको प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीले जानकारी दिनुभयो ।

‘खेल नै जीवन हो भन्ने मूल नाराका साथ’ पालिका भित्र खेलकुद क्षेत्रको विकास गर्दै खेलाडीहरू उत्पादनमा सहयोग पुर्‍याउने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको उहाँले बताउनुभयो । प्रतियोगितामा पालिका भित्र रहेका माध्यमिक विद्यालयहरूबाट फुटबल टिमको सहभागिता रहेको छ ।

गाउँपालिका–५ स्थित दर्बुङमा सुरु भएको प्रतियोगितामा प्रत्येक विद्यालयहरूबाट छात्र तथा छात्राहरूको फुटबल टिम सहभागी भएका छन् । प्रतियोगितामा उपाधि विजेता टिमले नगद ३० हजार रुपियाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

त्यस्तै, दोस्रो हुने टिमले नगद १५ हजार रुपियाँसहित ट्रफी मेडल र प्रमाण पत्र तथा तेस्रो हुने टिमले नगद रु ७ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

प्रतियोगिताको एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष दीपक तिमेल्सनाले उद्घाटन गर्नु हुँदै गण्डकी गाउँपालिकाले खेलकुदका लागि आवश्यक बजेट व्यवस्थापन गर्दै अगाडि बढिरहेको खेलाडीहरूलाई हौसला प्रदान गर्नु भयो ।

स्वास्थ्यका लागि मात्र नभएर खेलकुद प्रतियोगीताहरुले युवाहरूको व्यक्तित्व विकासमा पनि सहयोग पुग्ने र उनीहरूमा आत्मविश्वास पनि बढाउन मद्दत पुग्ने भएकाले गाउँपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकता दिँदै आएको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमेल्सनाको भनाइ छ ।