• २२ असार २०८१, शनिबार

माछामासु पसलमा अनुगमन

blog

हेटौँडा –१० बसपार्कमा रहेका माछामासु पसलको अनुगमन गरिँदै । तस्विर : अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, असोज २५ गते । चाडपर्व नजिकिएसँगै हेटौँडामा माछामासु पसल अनुगमनलाई तीव्रता दिइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौँडा मकवानपुरको नेतृत्वमा बिहीबार हेटौँडा आसपासका एक दर्जन बढी माछामासु पसलको अनुगमन गरिएको हो ।

हेटौँडाको १६ वटा माछामासु पसलमा अनुगमन गर्ने क्रममा प्रतिबन्धित माहुर माछा, अण्डा र मासु जफत गरिएको छ । हेटौँडा –१० बसपार्कमा रहेको राजु फिस सप्लायर्सबाट १६ दशमलव ९ केजी मागुर र खान उपयुक्त नभएको माछा, हेटौँडा –१ मा रहेको रेसु सप्लार्यसबाट अण्डा र प्रतीक मिटसपबाट खानका लागि उपयुक्त नभएको मासु बरामद गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौँडा मकवानपुरका कार्यालय प्रमुख डा.बज्रकिशोर ठाकुरले जानकारी दिनुभयो । 

अनुगमनका क्रममा मासु पसलले अपनाउनुपर्ने न्यूनतम मापदण्ड कमले मात्र पूरा गरेको, सरसफाइमा ध्यान नदिएको र आवश्यक मापदण्ड पूर्णरुपमा पालना नभएको पाइएको उहाँले बताउनुभयो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौँडा मकवानपुरको आर्थिक वर्ष २०८०–८१ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार हेटौँडा उपमहानगरपालिका भित्र रहेका माछामासु पसलको अनुगमन गरिएको थियो । अनुगमनमा खाद्य तथा गुण नियन्त्रण कार्यालयका अनुसन्धान अधिकृत विक्रम लिम्बू, हेटौँडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, मकवानपुर उद्योग वाणिज्य सङ्घ, उपभोक्ता हित संरक्षण मञ्च र मासु व्यवसायी सङ्घका प्रतिनिधिको सहभागिता थियो ।