• २६ वैशाख २०८२, शुक्रबार

लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी सुरु

लेखा समिति सक्रिय भए सहकारीमा समस्या आउँदैन : सचिव दुवाडी

blog

राष्ट्रिय सहकारी बैङ्कले आयोजना गरेको लेखा सुपरिवेक्षण समितिको गोष्ठीमा बोल्नुहुँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणी दुवाडी ।

काठमाडौं, असोज २५ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले सहकारीमा समस्या आउन नदिनका लागि लेखापरीक्षकको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ । राष्ट्रिय सहकारी बैङ्कले आयोजना गरेको लेखा सुपरिवेक्षण समितिको गोष्ठीमा बोल्नुहुँदै दुवाडीले सहकारीमा समस्या आउन नदिन र समस्या समाधानका लागि लेखापरीक्षण समितिको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।

आन्तरिक नियन्त्रण प्रणाली बलियो भए सहकारी संस्थामा समस्या नआउने भन्नुहुँदै उहाँले समितिले आफ्नो सक्रियता बढाउनु पर्नेमा जोड दिनुभयो । उहाँले आन्तरिक नियन्त्रण प्रणाली सुदृढ हुन सकेको छ छैन भन्नेकुरा अहिलेको परिस्थितिले देखाएको जानकारी दिनुभयो ।


लेखा समितिले हरेक गतिविधिको नियमन गर्न सक्ने भन्नुहुँदै उहाँले हरेक चार महिनामा संस्थाको आन्तरिक लेखा प्रणालीलाई लेखापरीक्षण गर्न सक्ने र सो अनुसार नभए आवाजसम्म उठाउन सक्ने बताउनुभयो । आन्तरिक नियन्त्रण प्रणालीबाट सहकारी सञ्चालन हुन्छ भन्ने मान्यताले सहकारीहरू स्वनियमन र स्वअनुगमनमा छाडेको उहाँको भनाइ छ ।

अधिकांश सहकारी संस्थाहरूको तरलता १० प्रतिशतभन्दा कम भएको र लगानी गरेको पुँजी समयमै फिर्ता नहुँदा तरलता व्यवस्थापनमा समस्या भएको दुवाडीले बताउनुभयो । समग्र अर्थतन्त्रको अवस्था र त्यसको प्रभावलाई मूल्याङ्कन नगरी लगानी गर्दा सहकारीमा समस्या आएकाले त्यसतर्फ अब समितिले ध्यान दिन सुझाव दिनुभयो । सदस्यको विश्वास जित्न नसकेसम्म जतिसुकै तालिम र गोष्ठी गरेपनि औचित्य नरहने उहाँको भनाइ छ ।


कार्यक्रममा उहाँले अधिकांश सहकारीहरू आफ्नो मूल्य मान्यता र सिद्धान्त अनुसार काम नगर्दा समस्या सिर्जन भएको बताउनुहुँदै अहिलेको समस्याको कारण र समाधानका उपायहरू पहिचान गर्नका लागि लेखा समितिको भूमिका महत्त्वपूर्ण हुने औँल्याउनुभयो ।

“पदाधिकारीहरूले सहकारी सदस्यहरूप्रति वफादारिता कायम गर्न नसक्दा अधिकांश सहकारीमा समस्या आएको हो, लेखा समितिले पनि तदारुकता देखाउन सकेनन्, सहकारीमा अहिले वातावरणीय समस्या जस्तो देखिएको हो, गलत सहकारीका कारण राम्रो सहकारी पनि समस्यामा परे, यो समस्या समाधानका लागि लेखा समितिले भूमिका खेल्न सक्नु पर्छ”, उहाँले भन्नुभयो ।

उहाँले सहकारी क्षेत्र सुधार कार्यदलले दिएका सुझावहरू कार्यान्वयन गर्न सकेमा सहकारीको समस्या समाधान हुने धारणा राख्नुभयो । उहाँका अनुसार ती सुझावहरूले सहकारीको सुधारका लागि ठुलो पहल गर्न सक्छ । उहाँले सहकारीकर्मीहरुले सदस्यहरूप्रति जिम्मेवार नबन्दा अहिलेको समस्या देखिएको बताउनुभयो । सदस्यहरू पनि सहकारीप्रति वफादारिता नबन्दा अहिलेको परिस्थिति सिर्जना भएको उहाँको भनाइ छ ।


कतिपय सहकारीका सञ्चालकहरूलाई नै आफू सञ्चालक भएको समेत जानकारी नहुने विषय पनि आफूसमक्ष गुनासो आएको जानकारी दिनुभयो । “अहिले म सहकारीको सञ्चालक होइन भनेर निवेदन दिनेको चाङ लाग्न थालेको छ, म कसरी सञ्चालक बनेँ, सहकारीबाट पहिले नै राजीनामा दिइसकेको हुँ भनेर निवेदन दिने गरेका छन्”, उहाँले प्रश्न गर्नुभयो । यसरी सञ्चालकहरू समस्याबाट पन्छिन वा भाग्न नसक्ने बताउनुभयो । बैङ्कका अध्यक्ष के.बी. उप्रेतीको अध्यक्षतामा सुरु भएको गोष्ठी भोलि (शुक्रबार) सम्म चल्नेछ ।