• १८ वैशाख २०८१, मङ्गलबार

जब्दीघाटको पुल निर्माणको काम अघि बढ्छ : अध्यक्ष नेपाल

blog

मेची–महाकाली समाजवादी जागरण अभियानअन्तर्गत गुलरियामा आइपुग्नुभएका नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पत्रकार सम्मेलनमा बोल्नुहुँदै । तस्बिर : मुकुन्द सुवेदी

मुकुन्द सुवेदी
बर्दिया, असोज २५ गते ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बर्दियाको बबई नदीस्थित जब्दीपुलको काम दुई तीन महिनामा सुरु हुने बताउनुभएको छ । मेची–महाकाली समाजवादी जागरण अभियानअन्तर्गत गुलरियामा आइपुग्नुभएका उहाँले पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो ।

जब्दीपुलको बारेमा आज (बिहीबार) बिहान पनि भौतिक योजना तथा पूर्वाधार मन्त्रालयको सचिवसँग कुरा भएको भन्नुहुँदै दुई/तीन महिनामा पुल निर्माणका लागि प्रक्रिया अघि बढ्ने अध्यक्ष नेपालले बताउनुभयो । उहाँले जब्दीघाटमा रहेको पुलभन्दा करिब दुई/तीन सय मिटर आसपास पुल निर्माणको काम अघि बढ्ने, यसका लागि आफूले पहल गर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले यही सरकारलाई निरन्तरता दिँदै विकास र सुशासनको काम अघि बढाउने बताउनुभयो । उहाँले चोरैतिर भ्रष्टाचार र कुशासन बढेको भन्नुहुँदै यो अभियानले भ्रष्टाचारको अन्त्य गर्न र सुशासन कार्यम गर्न, जनतामा रहेका निराशालाई आशाको सञ्चार गराउने उद्देश्य रहेको जिकिर गर्नुभयो । उहाँले गरिबका छोराछोरी विदेश कमाउन जानुपर्ने बाध्यता रहेकोमा चिन्त्ता प्रकट गर्नुभयो ।

सरकारलाई देशमा देखापरेको आर्थिक समस्या, बेरोजगारीको अन्त्य गर्न, योजना बनाएर काम गर्नुपर्ने भन्दै पार्टीले सरकारलाई ज्ञापनपत्र बुझाएको अध्यक्ष नेपालले बताउनुभयो । उहाँले पार्टीले बुझाएको ज्ञापनपत्रमा ब्याजदर घटाउने, राष्ट्रिय पुँजीको विकास गर्ने, उद्योग स्थापना गर्न माग गरिएको बताउनु भयो । उहाँले देशलाई बढेको भ्रष्टाचार र कुशासनको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो ।

यसैगरी, नेकपाका उपमहासचिव जन्ननाथ खतिवडाले यो समाजवादी जागरण अभियान राष्ट्रियताको जागरण, भ्रष्टाचारविरुद्धको जागरण, पार्टी निर्माणको जागरण भएको बताउनुभयो । उहाँले  गरिबी, अशिक्षा, रोगले देश थिलथिलो भएको र बेरोजगारीको समस्या बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले देशभित्र देखापरेका समस्याको समाधान गर्न पनि यो अभियानको उद्देश्य रहेको बताउनुभयो ।

असोज १४ गते झापाको काँकरभिट्टाबाट सुरु भएको मेची–महाकाली जागरण अभियान असोज २७ गते सुर्खेत समापन हुनेछ ।