• १९ वैशाख २०८१, बुधबार

एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा जैसी निर्विरोध

blog

भावना जोशी 

अत्तरिया, असोज २५ गते ।  नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कृष्णप्रसाद जैसी निर्विरोध निर्वाचित हुनुभएको छ  । अन्य पदाधिकारीहरू समेत सर्वसम्मत हुनुभएको हो  । 

अध्यक्ष पदमा मनोनयन दर्ता गराएका निवर्तमान उपाध्यक्ष कमलप्रसाद तिमिल्सिना, वचनबहादुर सिंह र भरत साउदले उम्मेदवारी फिर्ता लिएपछि जैसी निर्विरोध निर्वाचित हुनुभएको हो  । निवर्तमान प्रदेश सचिवालय सदस्य रहेका जैसी तत्कालीन अछाम जिल्ला विकास समितिका सभापति समेत रहनुभएको थियो उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही सर्वसम्मत हुनुभएको हो ।

हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, हजारीसिंह साउद र गजेन्द्र बहादुर शाहीले उम्मेदवारी फिर्ता लिएपछि शाही सर्वसम्मत चुनिनुभएको हो  ।सचिवमा भने कैलालीका रणबहादुर चन्द सर्वसम्मत चयन भएका हुनुभएको हो  । सचिवका प्रत्याशी राजेश खाती, जीवनबहादुर बम र रतनबहादुर रेग्मीले उम्मेदवारी फिर्ता लिएपछि चन्द पनि सर्वसम्मत हुनुभएको हो  । उपसचिव (खुल्ला) मा कञ्चनपुरका नरबहादुर विक र उपसचिव (महिला) मा कैलालीकी भागरथी विष्ट चयन हुनुभएको छ ।उपसचिव (खुल्ला) मा रामदत्त जोशी, अशोककुमार चन्द, सुरेन्द्रबहादुर पाल, हरदेव जोशी र पल्लभराज भट्टले उम्मेदवारी दर्ता गराए पनि पछि फिर्ता लिनुभएको थियो । 

उपसचिव (महिला) मा कन्दकला राना र अर्चना गहतराजले उम्मेदवारी फिर्ता  लिनुभएको हो  ।पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि निर्वाचन प्रक्रिया लम्ब्याएर मङ्गलवारदेखि नेताहरूले सर्वसम्मतिको प्रयास गरेका थिए । विभिन्न पदमा आकांक्षा राखेका उम्मेदवारहरूलाई अन्यत्र व्यवस्थापन गर्ने आश्वासनसहित उम्मेदवारी फिर्ता गराइएको स्रोतले बतायो ।

अन्तिम समयमा नेता भीम रावल निकट मानिएका अध्यक्ष पदका उम्मेदवार भरत साउदले उपसचिवमा आफू निकट नरबहादुर विकका नाममा सहमति खोज्नुभएको थियो । नेताहरूले विकका नाममा सहमति गरेपछि सबै पदाधिकारी सर्वसम्मत चयन हुने अवस्था आएको हो ।