• ७ माघ २०८१, सोमबार

भ्रष्टाचारी ठहरिएका रौतहटका नगरप्रमुख यादवलाई तीन वर्ष कैद

blog

दोषी ठहरिएका फतुवा विजयपुर नगरपालिकाका प्रमुख गोपाल राय यादव । तस्बिर: गोरखापत्र

यादवराज पुरी

रौतहट, असोज २५ गते । भ्रष्टाचार अभियोगमा दोषी ठहरिनु भएका रौतहटको फतुवा विजयपुर नगरपालिकाका प्रमुख गोपाल राय यादवलाई तीन वर्ष कैद र १५ लाख रुपियाँ जरिवाना तोकिएको छ । 

विशेष अदालतले कसुर ठहर्याएपछि बुधवार उक्त सजाय सुनाएको हो । प्रचलित ऐन कानुन विपरीत लाल बकैया नदीको ठेक्का रद्द गरी पालिकालाई आर्थिक नोक्सान पुर्‍याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले प्रमुख यादवलाई दोषी ठहर गरेको हो । उहाँ स्थानीय निर्वाचनमा दोस्रो कार्यकालको लागि पनि चुनिनुभएको थियो । 

उक्त प्रकरणमा आयोगले २१ जनालाई प्रतिवादी बनाएकोमा अदालतले प्रमुख यादवलाई मात्रै ठहर गरेको थियो । २०७९ असार १२ गते अख्तियारले मेयर यादव सहित तत्कालीन उपप्रमुख कान्तिदेवी, वडा नम्बर १, २, ३, ५, ६, ८, ९, १० र ११ का वडाध्यक्ष, केही पूर्व वडाध्यक्ष, तत्कालीन नगर कार्यपालिका सदस्यहरूका साथै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सागरकुमार रोका, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोकुल ढुङ्गेल र रञ्जना साहसमेत गरी २१ जनालाई मुद्दा चलाइएको थियो । 

पालिका प्रमुख यादवले नियमविपरीत लालबकैया नदीकाे ठेक्का रद्द गरेको अख्तियारको ठहर थियो । ठेक्का रद्द गर्दा विजयपुर र गुजरा दुवै नगरपालिकालाई आर्थिक नोक्सानी भएको भन्दै प्रतिवादीले क्रमशः ६० र ४० प्रतिशत रकम भराउन अभियोग पत्रमा माग राखेका थिए । 

लालबकैया नदीको ठेक्काको सम्बन्धमा २०७५ पुस १५ गते भएको निर्णय कार्यान्वयन नगराएको तथा बोलपत्रदाताको धरौटी जफत गर्नुपर्नेमा राजस्व मात्रै सङ्कलन गर्ने कार्य गरेको अख्तियारको ठम्याई रहेको थियो । एक करोड ५३ लाख ५० हजार एक सय ९९ हजार रुपियाँ बिगो दाबी गरिएको यस मुद्दामा विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल र खुसीप्रसाद थारुको संयुक्त इजलासले पालिका प्रमुख यादवलाई मात्र दोषी ठहरको फैसला सुनाएको थियो ।