• ३० वैशाख २०८२, मङ्गलबार

राजमार्गको यात्रा सहज बनाउने योजना

blog

धादिङ समाचारदाता

धादिङ, असोज २५ गते । चाडपर्वको समयमा राजमार्गको यात्रालाई सहज, सुरक्षित र भरपर्दो बनाउन धादिङका सरोकारवाला निकायहरूले समन्वयात्मक रूपमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

पृथ्वी राजमार्ग विस्तार भइरहेको अवस्थामा सहज ढङ्गले दुईतर्फी रूपमा सवारीसाधन आवतजावत सहज बनाउन जिल्ला प्रशासन कार्यालयसहित तीन वटै सुरक्षा निकाय, यातायात व्यवसायी, सडक आयोजना कार्यालयलगायतका निकायले उक्त निर्णय गरेका हुन् ।

राजमार्ग विस्तारका सिलसिलामा सडक छेउकुनामा राखिएका निर्माण सामग्रीका कारण सवारी आवागमन अवरुद्ध हुन नदिन, खाल्टाखुल्टी तत्काल पुर्न र आवश्यक स्थानमा स्पिड लाइनसहित ट्राफिक सङ्केत, ऐना आदिको प्रबन्ध मिलाउन प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले सम्बन्धित सडक आयोजना तथा निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको छ ।

सडक आयोजना, निर्माण कम्पनी, यातायात व्यवसायी र सरोकारवाला निकायसँग मङ्गलबार संयुक्त बैठक राखेर प्रमुख जिल्ला अधिकारी गैरेले दसैँ, तिहार, छठलगायतका चाडपर्व नजिकै आइसकेको र यो समयमा मानिसको आवतजावत एवं सवारीसाधनको चाप वृद्धि हुने हुँदा सडक सुरक्षामा केन्द्रित रहन निर्देशन दिनुभएको हो । 

जिल्लाभित्रका अन्य सडकमा समेत सहज ढङ्गले आवतजावतको व्यवस्था मिलाउन सडक मर्मतसम्भारको कार्यलाई तीव्रता दिई अवरुद्ध रहेका सडकलाई तत्काल सुधार गराउन एवं सञ्चालनमा रहेका सडकको स्तरोन्नति गर्न सम्बन्धित सडक कार्यालय÷आयोजना र निर्माण व्यवसायीलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी गैरेले बताउनुभयो ।

चाडपर्वको समयमा सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राख्ने, बढी भाडा असुल गर्नेलगायत गुनासो आउन नदिने गरी आवश्यक सङ्ख्यामा सवारीसाधनको व्यवस्था गर्न व्यवसायी पनि सहमत भएका छन् । सडक दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवसायीले सवारीसाधनको नियमित रूपमा प्राविधिक परीक्षण गराई चुस्त अवस्थामा राख्ने, सवारीचालक तथा सहचालकलाई अनुशिक्षण र नियमित रूपमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले जानकारी दिनुभयो ।

राजमार्गको यात्रा सुरक्षित बनाउन र सडक दुर्घटना न्यूनीकरण गर्न प्रहरीले विभिन्न कार्यव्रmमसहित नियमित जाँचलाई तीव्र बनाएको छ । चालक सहचालकहरूले मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाएको पाइएमा अभद्र व्यवहारको मुद्दा चलाउने र बढी भाडा असुलेको फेला परे ठगी गरेको कसुरमा मुद्दा चलाइने धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रको भनाइ छ ।