बुलबुले समाचारदाता
सुर्खेत, असोज २५ गते । नरहरिनाथ वन विज्ञान क्याम्पसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधन गर्ने तयारी गरिएको छ । पश्चिम सुर्खेतको चौकुनेस्थित प्रस्तावित नरहरिनाथ वन विज्ञान क्याम्पसको पूर्वाधार निर्माणका लागि डिपिआर संशोधन गर्न लागिएको हो । नयाँ लागत मूल्य, केही योजना परिमार्जनसहित पूर्वाधार निर्माणको कामलाई अघि बढाउन डिपिआर संशोधन गर्न लागिएको चौकुने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष खड्क विकले यो वर्ष नै डिपिआर संशोधन गरिने बताउनुभयो । उहाँका अनुसार डिपिआर अद्यावधिक गर्दा नयाँ लागत मूल्यको निर्धारण हुने छ । त्यसका लागि पालिकाले समेत केही बजेट विनियोजन गरेको छ ।
यसअघि पूर्वाधार निर्माणका लागि डिपिआर तयार भएको थियो । सोही डिपिआर अनुसार नै काम भइरहेको छ । क्याम्पसको सम्पूर्ण पूर्वाधार निर्माणका लागि १७ करोड लागत अनुमान रहेको छ । अहिले सोही डिपिआरलाई अद्यावधिक गरिने गाउँपालिकाले जनाएको छ । बजेट व्यवस्थापन गरेर २०७४ बाटै क्याम्पसको भौतिक संरचना निर्माण गरी काम अघि बढाइएको थियो । अहिलेसम्म दसकोठे भवन निर्माण मात्र भएको छ । प्रशासनिक भवन निर्माण, खेलमैदानलगायतका पूर्वाधारका काम गर्न बाँकी नै छ ।
यता क्याम्पस पाँच वर्षदेखि सम्बन्धनको पर्खाइमा छ । चौकुने गाउँपालिका–५, तोस्रामा वन विज्ञान क्याम्पस सञ्चालन गर्ने नीतिगत निर्णय पहिलो गाउँ सभाले गरेको थियो । सो क्याम्पसका लागि जानकी, मालिका र मायाताल सामुदायिक वनको गरी २६ बिघा जग्गा घेराबार गरिएको छ । बजेट व्यवस्थापन गरेर २०७४ बाटै क्याम्पसका भौतिक संरचना निर्माण गरी काम अघि बढाइएको थियो । २०७७ मा निर्माण सम्पन्न भइसकेको क्याम्पसको दसकोठे भवन अहिलेसम्म प्रयोगमा आउन सकेको छैन । सम्बन्धित निकायबाट अध्यापन अनुमतिका लागि सम्बन्धन नपाउँदा त्यहाँका भौतिक संरचना बेवारिसे बनेका छन् ।
अध्ययनको प्रतिवेदन हालसम्म पनि सार्वजनिक नगरेको क्याम्पस पूर्वाधार निर्माण समितिका संयोजक हरिप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार अध्यापन स्वीकृतिका लागि प्रक्रिया थालेको लामो समय भइसक्दा पनि अझै अन्योल कायमै रहेको छ । उक्त प्रस्तावित शिक्षालयको भवन निर्माणमा सांसद पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको २५ लाख र गाउँपालिकाको २९ लाख गरी ५४ लाख रकम खर्च भइसकेको छ । त्यस्तै क्याम्पस क्षेत्रको २६ बिघा जग्गा घेराबारका लागि डिभिजन वन कार्यालय सुर्खेतमार्फत पाँच लाख बजेट खर्च गरिएको छ । अधिकारीका अनुसार क्याम्पसका लागि दसकोठे दुई वटा भवन बने पनि सामुदायिक वनको जग्गा स्वामित्वमा आएको छैन ।