• २३ वैशाख २०८१, आइतबार

खेल क्षेत्रको प्रवर्द्धनका लागि कुनै कसर बाँकी राख्दिनःँ प्रधानमन्त्री प्रचण्ड

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित खेलाडीहरू ।

काठमाडौं, असोज २४ गते । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रको प्रबर्धनका लागि आफू सरकार प्रमुखको हैसियतले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । आज साँझ सरकारी निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा चीनमा आयोजित १९ औं एसियाली खेलकूदमा विजयी खेलाडीहरुलाई बधाई ज्ञापन गर्नुहुँदै प्रधानमन्त्रीले आउने दिनमा अझै ठुलो सफलता प्राप्त गर्नेगरी लाग्न शुभकामना दिनुभयो । 

उहाँले यस पटकको एसियाली खेलकूदमा महिलाहरुको प्रस्तुति नौलो भएको उल्लेख गर्दै आउने दिनमा अझै ठूला सफलता प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले आफू खेलाडीलाई हौसला प्रदान गर्न होङजाओ पुगेर एसियाली गेम्स उद्घाटनमा सहभागी भएको स्मरण गर्दै विजेता खेलाडीलाई उचित पुरस्कार दिने काममा आफू लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘केही कानुनी जटिलताले ढिलाइ हुन पुगेको हो, अब त्यसको पनि समाधान भएको छ ।’

उहाँले खेल क्षेत्रको विकासका लागि सरकारको अंग आफूलाई ठानेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारको अङ्ग म पनि हो भन्ने हामी सबैले ठान्यौं । हामीले केही अन्तर्राष्ट्रिय पदक हासिल गरेका छौं । केही मेडल ल्यायौं ।’ 

प्रधानमन्त्री प्रचण्डले चीन जाने बेलामा आफूले महिला सहभागिता देखेर बधाई दिएको थिएँ । अहिले महिलाले नै मेडल र रेकर्ड बनाउनुभयो । तपाईंहरूलाई बधाई दिन चाहन्छु । खेलाडीको प्रोत्साहनका लागि मैले रकम दिने घोषणा गरेको थिएँ । नियमावली पास गरेका थियौं । आजको क्याबिनेटमा निकासाका लागि निर्णय भयो र अब एक हप्तामा त्यो आउँछ ।’


नेपालको खेल विश्वले हेरेको बताउँदै क्रिकेटमा अन्तर्राष्ट्रिय रेकर्ड राखेको भन्दै प्रधानमन्त्रीले खुसी व्यक्त गर्नुभयो । 

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘संयुक्त राष्ट्रसंघ पुगेर आएँ । यसपालि नेपाललाई विश्वले देखेको छ, सुनेको छ । तपाईंहरूले पनि विश्व रेकर्ड बनाएर नेपालको नाम स्थापित गर्नुभएको छ । तपाईंहरुको प्रस्तुतिले पनि नेपाललाई विश्वले देख्ने र सुन्ने स्थानमा पुर्याएको छ ।’’ उहाँले नेपाली खेलाडीको एसियाली खेलमा गरेको प्रस्तुतिले आफूलाई खुसी र गर्वको महसुस भएको बताउनुभयो ।