• ७ जेठ २०८१, सोमबार

सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसलमै छैन चिनी

blog

सरकारले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसल । तस्बिर : सुजन गुरुङ

काठमाडौं,  असोज २५ गते । सरकारले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा चिनीको अभाव देखिएको छ । सरकारले गत २१ गतेबाट सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा वितरणका लागि राखेको चिनी दुई दिनमै सकिएपछि चिनीको अभाव भएको हो । सुपथ मूल्य पसलमा चिनी छैन भन्ने बोर्ड झुण्ड्याइएको छ । 

थापाथलीमा सञ्चालनमा रहेको सुपथ मूल्य पसलमा भेटिनुभएका ग्राहक अभय श्रेष्ठले चिनी पाउने आसमा दुई दिन धाउँदा पनि चिनी नपाएको गुनासो सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “सञ्चालनमा आएको सुपथ मूल्यमा चिनी पाइन्छ भन्ने सुनेर आएका । तर यहाँ आउँदा त चिनी नै छैन भन्ने बोर्ड झुण्ड्याइएको छ । लगातार चिनी पाउने आसमा दुई दिन भयो आएको, तर चिनी नै छैन ।”


चिनीको अभाव भएको देख्दा बरु मधुमेह लाएको भए चिनी नै खानुपर्दैनथ्यो भन्ने सोच आएको उहाँ बताउनुहुन्छ । श्रेष्ठले भन्नुभयो, “दुई दिन धाउँदा पनि चिनी नपाउँदा त बरु मधुमेह नै लागेको भए हुन्थ्यो । चिनी त खानुपर्दैनथ्यो । यो दुःख त पाउनुपर्दैनथ्यो ।” सरकारले चिनी सुपथ मूल्यमा पाइएको छ भनेर झुटो प्रचार गरेको उहाँको आरोप छ । बाहिर बजारमा चिनी अभाव भएको समयमा सरकारले त सुपथ मूल्यमा वितरण गर्ला भनेर आएको यहाँ पनि नपाउँदा दुःख लागेको श्रेष्ठले सुनाउनुभयो ।

यस्तै, सुपथ मूल्य पसलमा नै भेटिनुभएका रञ्जिता श्रेष्ठ पनि चिनी नपाउँदा निराश भएको बताउनुभयो । बाहिरी पसलमा सोध्दा पनि केही पसलहरूले चिनी नभएको बताउने गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “बाहिर पसलहरूमा चिनी सोध्दा चिनी नै छैन भन्छन् । केही खुद्रा पसलहरूमा प्रतिकेजी १५० रुपियाँ तिरेर किन्न पाइन्छ । तर धेरैले छैन भन्ने गरेका छन्, सस्तो पाइन्छ भनेर यहाँ आइयो तर छैन ।” चाडवाडमा चिनीको प्रयोग बढी हुने समयमै अभाव हुँदा समस्या हुने रञ्जिता बताउनुहुन्छ ।

थापाथलीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालन गरेको सुपथ मूल्य पसल प्रमुख ज्ञानु थापाले अहिले सुपथ मूल्य पसल सञ्चालनमा चिनीको अभाव भएको कुरा साँचो भएको बताउनुभयो ।

प्रमुख थापाले भन्नुभयो, “अहिले सुपथ मूल्य पसलमा चिनीको अभाव भएको कुरा साँचो हो । हामीलाई आएको आठ क्विन्टल चिनी पसल सञ्चालन भएको दुई दिनमै सकियो ।”


यता खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले सुपथ मूल्य पसलमा चिनी सकिएकाले तत्काललाई चिनी वितरण गर्न नसकिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीसँग भएको चिनीको मौज्दात सकियो । अहिले सुपथ मूल्यमा चिनी वितरण गर्न सकिएको छैन ।”

सरकारले खाद्यलाई १० हजार क्विन्टल चिनी खरिद गर्नका लागि भदौ २९ गते स्वीकृति दिएको थियो । सूचना अधिकारी सुवेदीका अनुसार सरकारले चिनी खरिदका लागि स्वीकृति ढिला दिँदा दसैँतिहार अघि नै चिनी खरिद गर्न सक्ने अवस्था छैन ।

 सरकारले असारको अन्तिम साता वा साउनको पहिलो हप्ता स्वीकृति दिएको भए दसैँ अगावै चिनी खरिद गर्न सकिने उहाँ बताउनुहुन्छ । सरकारले दिएको स्वीकृति अनुसार ग्लोबल टेण्डर भएको भए पनि दसैँ, तिहारका लागि भने चिनी ल्याउन नसकिने उहाँको भनाइ छ । 

साल्ट्र ट्रेडिङ् कर्पोरेसन लिमिटेडले भने आफूसँग चार सय क्विन्टल चिनी मौज्दात रहेको जनाएको छ । लिमिटेडका सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार दसैँतिहार लक्षित सुपथ मूल्य पसलमा प्रतिव्यक्ति दुई केजीका दरले चिनी बिक्री भइरहेको छ । उहाँले भन्नुभयो, “लिमिटेडसँग चार सय क्विन्टल चिनी मौज्दात छ । लिमिटेडले सञ्चालन गरेको सुपथ मूल्य पसलमा आउने ग्राहकका लागि प्रतिव्यक्ति दुई केजीसम्म चिनी बिक्री गरिरहेका छौँ ।”

सरकारले लिमिटेडलाई पनि १० हजार चिनी खरिद गर्नका लागि स्वीकृति दिएको थियो । तर तत्काल नै खरिद गरेर ल्याएर वितरण गर्ने अवस्था भने नरहेको उहाँको भनाइ छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।