• १९ वैशाख २०८१, बुधबार

तस्करहरूलाई ठेगाना नलगाई विश्राम लिन्न : गृहमन्त्री श्रेष्ठ

blog

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ । तस्बिर : गुणबहादुर रोका

गुणबहादुर रोका

सुलीकोट, असोज २४ गते । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारी र तस्करलाई ठेगान नलगाई विश्राम नलिने बताउनुभएको छ । 

नेपाल राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान गोरखा शाखाले बुधबार आयोजना गरेको बृहत् राष्ट्रिय लोकदोहोरी महोत्सव २०८० को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । संवृद्ध नेपाल निर्माणका लागि भ्रष्टाचारको अन्त्य अनिवार्य रहेको उहाँले बताउनुभयो । 

नेपालमा ठुलो राजनीतिक परिवर्तन पछाडि सुशासन, संवृद्धि र सामाजिक न्यायसहितको बाटोमा देशलाई अघि बढाउने अठोटका साथ वर्तमान सरकारले काम गरिरहेको उहाँको भनाइ छ । 

उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गरी दण्डहीनताको अन्त्य गरेर मात्र जनतालाई सहज ढङ्गले सेवा प्रवाह गर्ने, देशको सुशासन र संम्बृद्धिको प्रक्रियालाई अघि बढाउन सकिने बताउनुभयो ।  

जनताले आफ्नो दैनिक जीवन नै फेरिएको अनुभूति गर्नेगरी काम गर्न सरकार प्रतिबद्ध भएर लागेको उहाँको भनाइ छ । ‘‘सुशासनका लागि भ्रष्टाचारीमाथि कारबाही गर्ने, सबै प्रकारका तस्कर र अपराधीमाथि कारबाही गरी भ्रष्टाचार, अपराध र दण्डहीनताको अन्त्य गरेर सुशासन कायम गर्ने प्रक्रिया सरकारले अघि बढाइरहेको छ” उहाँले भन्नुभयो, ‘‘यो प्रक्रियालाई हामी कुनै पनि कोणबाट रोक्नेवाला छैनौँ, विश्राम लिनेवाला छैनौँ ।”

युगान्तकारी राजनीतिक परिवर्तन पछाडि समाजवादउन्मुख समावेशी लोकतन्त्र स्थापना भए पनि जनताको दैनिक जीवनमा आमूल परिवर्तन हुन नसकेको उप्रप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो । ‘‘नेपाललाई विकास र संम्बृद्धिको दिशामा तीव्रता प्रदान गर्ने र संवृद्ध नेपाल बनाउने लक्ष्यसाथ सरकार अघि बढेको छ”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘सरकारको एउटा निष्कर्ष रहेको छ नेपालमा विकास र संम्बृद्धिको प्रक्रिया अघि बढाउन भ्रष्टाचार अन्त्य हुनैपर्छ ।’’

सुशासन प्रक्रिया अघि बढाउन सरकारलाई आमजनताको व्यापक समर्थन रहेको भन्दै उहाँले अपराध गर्ने र आपराधिक कार्यमा संलग्न रहेकाहरू, भ्रष्टाचारी गर्ने तथा भ्रष्टाचारीलाई संरक्षण गर्नेहरू भने सरकारको सुशासनको अभियानलाई रोक्ने षडयन्त्रमा लागिरहेको बताउनुभयो । 

गृहमन्त्री श्रेष्ठले इजरायलमा भएको दुःखद घटनामा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै त्यहाँ रहेका नेपालीको सुरक्षाका सवालमा सरकार गम्भीर रहेको बताउनुभयो ।