मुरारी अधिकारी
धादिङ, असोज २४ गते । चाडपर्वको समयमा राजमार्गको यात्रालाई सहज, सुरक्षित र भरपर्दो बनाउन धादिङका जिम्मेवार निकायहरू एक भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पृथ्वीराजमार्ग विस्तारको कार्य भइरहेका अवस्थामा सहज ढङ्गले दुईतर्फी रूपमा सवारी साधनको आवतजावतको सुनिश्चितता गर्न जिल्ला प्रशासन कार्यालयसहित तीन वटै सुरक्षा निकाय, यातायात व्यवसायी, सडक आयोजना कार्यालयलगायत निकायहरूले एक भएर अघि बढ्ने संयुक्त निर्णय गरेका हुन् ।
राजमार्ग विस्तारका काम गर्ने सिलसिलामा सडक छेउकुनामा राखिएका निर्माण सामग्रीका कारण सवारी आवागमन अवरुद्ध हुन नदिन विभिन्न खण्डमा रहेको खाल्डाखुल्डी तत्काल पुरी सहज बनाउन र आवश्यक स्थानमा स्पीड लाइनसहित ट्राफिक सङ्केत, ऐना आदिको प्रबन्ध मिलाउन प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले सम्बन्धित सडक आयोजनाहरू तथा निर्माण व्यवसायीहरूलाई निर्देशन पनि दिनुभएको छ ।
सडक आयोजना, निर्माण कम्पनी, यातायात व्यवसायी र सरोकारवाला निकायसँग मङ्गलबार संयुक्त बैठक राखेर प्रमुख जिल्ला अधिकारी गैह्रेले दसैँ, तिहार, छठ लगायतका चाडपर्व नजिकै आइसकेको र यो समयमा मानिसहरूको आवतजावत एवम् सवारी साधनको चाप वृद्धि हुने हुँदा सडक सुरक्षामा केन्द्रित रहन निर्देशन दिनुभएको हो । जिल्लाभित्रका अन्य सडकहरूमा समेत सहज ढङ्गले आवतजावतको व्यवस्था मिलाउन सडक मर्मत सम्भारको कार्यलाई तीव्रता दिई अवरुद्ध रहेका सडकहरूलाई तत्काल सुधार गराउन एवम् सञ्चालनमा रहेका सडकहरूको स्तरोन्नति गर्न सम्बन्धित सडक कार्यालय/आयोजनाहरू र निर्माण व्यवसायीहरूलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताउनुभयो ।
चाडपर्वको समयमा सवारी साधनमा क्षमताभन्दा बढी यात्रु राख्ने, बढी भाडा असुल गर्नेलगायत गुनासो सृजना हुन नदिनेगरी आवश्यक सङ्ख्यामा सवारी साधनको व्यवस्था गर्न सम्बन्धित व्यवसायीहरू पनि सहमत भएका छन् । चाडपर्वका समयमा मानिसहरूको आवतजावत बढेसँगै सवारी चाप समेत वृद्धि हुने र सवारी दुर्घटना समेत बढ्न सक्ने हुँदा सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्न यातायात व्यापारीहरूले सवारी साधनको नियमित रूपमा प्राविधिक परीक्षण गराई चुस्त अवस्थामा राख्ने, सवारी चालक तथा सहचालकलाई अनुशिक्षण र नियमित रूपमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले जानकारी दिनुभयो ।
राजमार्गको यात्रा सुरक्षित बनाउन र सडक दुर्घटना न्यूनीकरण गर्न प्रहरीले विभिन्न कार्यक्रमहरूसहित नियमित चेकजाँचलाई तीव्र बनाइरहेको छ । चालक सहचालकहरूले मादक पदार्थ सेवन गरेर सवारी हाँकेको भेटिए अभद्र व्यवहारको मुद्दा चलाउने र बढी भाडा अशुलेको फेला परे ठगी गरेको कसुरमा मुद्दा चलाइने धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रको भनाइ रहेको छ ।